झापाको दमकमा गएराति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक–५ स्थित क्याम्पसमोडमा भारतीय ट्रकले अटोलाई ठक्कर दिँदा अटोमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अटो चालक दमक–९ का ३९ वर्षीय हरि भुजेल र सोही ठाउँका २४ वर्षीय सुरज साह रहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतिर जादै गरेको भारतीय नम्बर प्लेटको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा अन्य तीन घाइते भएको र उनीहरू स्थानीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।