Saturday, January 18, 2025
Home > आर्थिक समाचार > चिसाङ खोलाले खेती बगाएपछि लेटाङ लामिटारका एक व्यक्तिद्वारा खोलाकै बगरमा सिमेसाग खेती गरेर वार्षिक ६ लाख रुपैयाँसम्म आम्दानी गर्दे

चिसाङ खोलाले खेती बगाएपछि लेटाङ लामिटारका एक व्यक्तिद्वारा खोलाकै बगरमा सिमेसाग खेती गरेर वार्षिक ६ लाख रुपैयाँसम्म आम्दानी गर्दे

लेटाङ २१ असोज
भएको सबै जमिन खोलाले बगाएपछि विचल्ली बनेर विभिन्न ठाउँमा भौतारिएपछि सिमसाग खेती सुरु गरेपछि लेटाङ लामिटारका गणेश लिम्बूका दिन फिरेका छन् ।  मोरङको लेटाङ नगरपालिका वाड नम्बर ६ का गणेश लिम्बू अहिले सिमेसाग बेचेर लाखौं आम्दानी गर्न सफल भएका छन् । गणेशलाई आजको यो अवस्थामा आइएला जस्तै लागेको थिएन । उनको जीवनले एउटा दर्दनाक कथा बोकेको छ । बुबाको मृत्युपछि भएभरको जग्गा सबै खोलाले बगायो । त्यपछि अभिभावकका रुपमा भएका एकजना दाजु पनि विरक्तिएर विदेशतिर लागे । गणेशले जहानबच्चा पाल्नका लागि अनेक दुःख सास्ती बेहोर्नु पर्यो । यसक्रममा उनी भारतका विभिन्न ठाउँ चहारे । जता गए पनि उनले कमाइ गर्न सकेनन् । तर यी घटनाले उनी कहिल्यै विचलित भएनन् । उनी जीवनलाई संघर्षको अर्काे नामको रुपमा लिएर अघि बढिरहे । उनले यो क्रममा ठूलो सास्ती र हण्डरको सामना गर्नुपर्यो । उनले लेटाङदेखि भुटाङसम्मको यात्रा मात्र गरेनन् उनले यो क्रममा भ्यागुरदेखि बँगुरसम्मको व्यापारसमेत गर्न पुगे । हाल उनी चिसाङले बगाएको खोलाको बगरमा सिमेसाग खेती गरेका छन् । त्यही बगर देखाउँदै उनी आफ्नो बारेमा बताउँछन् ।  हाल गणेश अर्गानिक सिमेसागको व्यापारबाट बार्षिक ६ लाख रुपैयाँसम्म कमाइ गर्ने गर्छन् । साउन लागेपछि सुरु हुने यो खेती माघ फागुनसम्म चल्दछ । त्यसो त गणेश मात्र नभएर लामिटार वरिपरिका स्थानीयको नगदे वालीको रुपमा ७ महिनाको मुख्य आम्दानी भनेको सिमसाग खेती हो । धरान, विराटनगर, दमक, पथरीसम्म सिमेसागको व्यापारले आरामले घर धान्ने गरेको छ ।  भनिन्छ श्रीमानको सफलतामा श्रीमतीको ठूलो हात हुन्छ । गणेशलाई अहिलेको यो अवस्थामा ल्याउन उनकी श्रीमती मनमायाले ठूलो देन रहेको छ । सिमेसाग सुरु गरेर राम्रो कमाइ हुने सूत्र पनि उनैले फेला पारेकी हुन् । सागहरुको राजा मानिएको सिमेसाग अन्य सागहरुको तुलनामा राम्रो व्यापार हुनेगरेको गणेशकी श्रीमती मनमाया लिम्बू बताउँछिन् ।  लेटाङ लामिटारकी सीता कार्कीले समेत सिमसाग खेतीबाट राम्रो कमाइ गरिरहेकी छिन् । उनी गणेशकी प्रेरणाबाट यो खेति गर्न थालेको बताउँछिन् ।  वि.सं. २०२६ सालमा चिसाङ खोलाले आफ्नो भएभरको जग्गा बगाएर बगर बनाएपछि उनको बिचल्ली भएको थियो र प्राकृतिक बिपतिले चुर्लुम डुबे पनि उनी हरेश नखाइ लागिरहँदा अहिले सफल भएको स्थानीय भवानी आचार्य बताउँछन् ।  जीवनमा हरेश खानु हुन्न, मेहनतले एकदिन अवश्य पनि सफलता हात पार्न सकिन्छ भन्ने राम्रो उदाहरणका रुपमा लेटाङ लामिटारका गणेश लिम्बुबाट सिक्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *