चितवन ८ असोज
चितवनको धान बालीमा फड्के किराको आतंकले किसान चिन्तित बनेका छन् । धानमा बाला लाग्ने बेलामा फड्के आतंकले उनीहरु हैरान भएका हुन् । विषादी हाल्दा पनि किरा नपरेको कालिका नगरकी दुर्गा चौधरीले बताउनुभयो । केही किरा मरे पनि धान अब आउला भन्ने आश मरेको उहाँको भनाइ छ । किराले अधिकांश किसानले लगाएको धान खेती नष्ट गरेको छ । एउटा बोटमा दुई हजारसम्म फड्के किराले धानको डाँठ चुसिरहेको देख्न सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले बताउनुभयो । उहाँले चितवनको इच्छाकामना बाहेकका सबै स्थानीय तहमा फड्के किराले आतंक फैंलिएको जानकारी दिनुभयो । जिल्लामा २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । यस वर्ष लकडाउनका कारणले जिल्लामा तरकारी खेती बिक्री नभएपछि कपितय किसानहरुले धान खेती गरेका कारण धानको क्षेत्रफल बढेको छ । चितवनमा चैत र असारमा दुई सिजन धान रोपाइँ गरिन्छ । चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलब २ मेट्रिक टन रहेको छ । वर्षे धान प्रतिहेक्टर ३ दशमलब ५२ मेट्रिक टन उत्पादन हुन्छ । जिल्लामा गत वर्ष १ लाख ६७२ मेट्रिक टन धान उत्पादन भएको थियो ।