मोरङ सुन्दरहरैंचा २९ भाद्र
गरिबी र अभावका कारण मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का ४७ बर्षीया अशोक दर्जीले आत्महत्या गरेपछि उनका छोराछोरी विचल्लीमा परेका छन् । दर्जीको किरियामा बसेका छोराछोरीलाई खानको समेत अभाव भएको छ ।
सुन्दरहरैंचा नगरपालिका वार्ड न १० सुकुमबासी टोलका अशोक दर्जीका ४ जना सन्तान छन् । ३ बहिनी छोरी र १ भाइ छोरामध्ये जेठीको छोरीको बिबाह भइसकेको छ भने अन्य ३ जना सन्तान भने नाबालक नै छन । मजदुरी गरेर अशोकले आफ्ना सन्तानको पालनपोषण गर्दै आएका थिए । दैनिक मजदुरी गरेर आफ्ना छोराछोरीको पालन पोषण गर्दै आएका उनले लकडाउन भएपछि मजदुरी गर्नसमेत पाएनन् । ऐलानी जग्गामा टहरोमा जीवन गुजार्दै आएका अशोकले आफ्नो घरमा भएका सामग्रीहरु बेचेर समेत छोराछोरीको पेट पालिरहेका थिए । कोरोनाका कारण ज्याला मजदुरी गर्ने बाटो बन्द भएपछि उनले आफ्ना छोराछोरीको पालन पोषणका लागि उनलाई कठिन भयो । यतिसम्म कि दुई छोरी र एक छोराको भोक टार्न उनले घरमा भएको ग्यास सिलिण्डरसमेत बेचे । लामो समय काम नखुल्दा भोकले छोराछोरी छटपटाउन थालेसँगै भोकमरीको पीडा सहन नसक्दा उनले मृत्युको बाटो रोजेको स्थानीय बताउँछन् । उनी गत मंगलबार डोरीको पासो लगाएर झुन्डिएको अबस्थामा फेला परे । उनको दर्दनाक कहनी सुन्दा जोकोहीको पनि आङ नै सिरिङ हुन्छ । आत्महत्यापछि उनको टहरोमा पुग्दा एक माना चामलसमेत घरमा नभएको छिमेकी दिपेन जोगीले बताउँछन् । कात्रो किन्ने पैसा त परै जाओस संस्कारअनुसार शवलाई घाटसम्म पुर्यानका लागि चाहिने एक मानो चामल तथा एक गेडो धानसमेत थिएन । उनको घरमा नभेटिएपछि छर छिमेकीबाट उठाएर शवको दाहसंस्कार गरेको अशोकको घरदेखि नजिकै घर भएका दिपेन जोगी बताउँछन । नाबालका छोरा र छोरी अहिले बाबुको काजक्रिर्या गरिरहेका छन । उनका १२ वर्षीय छोरा छन । मृत्यु संस्कारका लागि वडा कार्यालय तथा गाँउलेहरुले चन्दा उठाएर सहयोग गरिरहेका छन । मृतककी ३८ वर्षीया श्रीमती दिलमाया भने वैदेशिक रोजगारीको सिलसिलामा भारतको डिल्ली पुगेको बताईएको छ । लकडाउनले गर्दा उनी फर्किएर श्रीमानको काजकृयामा सहभागी हुन समेत पाएकी छैनन । राम्रो कमाई हुने प्रलोभन देखाएर कुवेत लैजाने भन्दै दलालले उनलाई दिल्लीमा र्पुयाएर अलपत्र पारिदिएका बताईन्छ । अशोकका १२ वर्षका एक छोरा, १४ र १७ वर्षीया छोरीको बिचल्ली यति बेला बिचल्ली भएको छ । बुबाको मृत्यु पछि माहिली छोरीको काधमा भाइ बहिनी पाल्ने र पढाउने जिम्मेवारी थपिएको छ तर उनी आफै शारिरीक रुपमा अशक्त छिन । जेठी छोरी बुबाको मृत्यु पछि साना भाइ बहिनी भविष्य विग्रीनेमा चिन्तित छिन । अझ उनलाई सानो भाइको पढाईको चिन्ताले पिरोलेको छ । कसैले भाइको पठनपाठनको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने चाहेकी छिन । बुढी भएकी आमा भने छोराको मृत्युको कुरा उठाउनसाथ भक्कानिन्छिन । आफूले छोरोको मुख हेर्न नपाउको पीडा त छदैँछ तर यी नाबालक नातीनातिको के होला भन्ने कुराले पिरोलेको छ । नागरिक खानै नपाएर आत्महत्याको अवस्थामा पुग्नु आफैमा दुःखद हो । आफ्ना नागरिकको जिउधनको सुरक्षा गर्नु राज्यको दायित्व हो । झन अहिले घर आँगनमा सरकार छ । आत्महत्याको कारण जे भए पनि मृत्युलाई सहजताको रुपमा लिन सकिन्न । राज्यबाट अब ती नाबालक छोराछोरी पालनपोषण र शिक्षा दिक्षाको ग्यारेन्टी हुन सकेमा मात्र अशोकको आत्माले शान्ति पाउने छ ।