Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > (क्लिन फिड) लागू भए नेपालको विज्ञापन बजार बढ्ने मिडिया अलायन्स नेपालका अध्यक्ष राजकर्णिकारको दावी

(क्लिन फिड) लागू भए नेपालको विज्ञापन बजार बढ्ने मिडिया अलायन्स नेपालका अध्यक्ष राजकर्णिकारको दावी

काठमाण्डौ २३ असोज
मिडिया अलायन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकारले विदेशी च्यानलमा विज्ञापन रहित (क्लिन फिड) लागू भए नेपालको विज्ञापन बजार बढ्ने बताउनुभएको छ । क्लिनफिड लागू नहुँदा नेपाली टेलिभिजन, छापा माध्यम र रेडियोको विज्ञापन बजार संकुचन भएको उहाँले बताउनुभयो । अध्यक्ष राजकर्णिकारले कात्तिक ७ गतेदेखि क्लिन फिड लागू भए नेपालको विज्ञापन बजार छोटो समयभित्रै १० अर्ब रुपैयाँ बढीले वृद्धि हुने बताउनुभयो । क्लिनफिड लागू भएपछि विदेशी ब्राण्डले नेपाली मिडियामा विज्ञापन गर्ने भएकाले पनि १० अर्ब बढीको विज्ञापन बढ्ने आँकलन गरिएको बताउनुभयो । जसबाट १२ अर्बमा रहेको नेपालको विज्ञापन बजार झण्डै २५ अर्ब पुग्ने उहाँको भनाइ छ । कात्तिक ७ गतेपछि क्लिनफिट हटाउँदा केही समस्या हुने भए पनि प्रविधिको प्रयोग गरी समस्या समाधान गर्न सकिने उहाँले बताउनुभयो । विदेशी च्यानलमा पैसा तिरेर विज्ञापन हेर्नुपर्ने स्थितिको अन्त्य नहुँदासम्म नेपाली मिडियामा विदेशी विज्ञापन आउनै नसक्ने पनि उहाँको भनाइ छ । प्राविधिक समस्याका नाउँमा फेरि समय थप गर्न नहुनेमा उहाँले जोड दिनुभयो । ऐन आएको एक वर्ष भइसकेकाले पनि तत्काल कार्यान्वयनमा जानुको विकल्प नरहेको पनि उहाँले बताउनुभयो । करिब ९० प्रतिशत विदेशी टेलिभिजनले विज्ञापन रहित प्रशारण गर्ने तय गरिसकेको र बाँकी १० प्रतिशतका लागि क्लिनफिड लागू गर्ने समय थप गर्न जरुरी नभएको बताउनुभयो । क्लिनफिड लागू भएपछि नेपालकै टेलिभिजनमार्फत बजार प्रवद्र्धन गर्नुपर्ने अवस्था आउँदा नेपालको विज्ञापन बजार बढ्ने उहाँले बताउनुभयो । यसबाट नेपालको विज्ञापन बजार दोब्बरले बढ्ने अवस्था आउने र नेपालका सञ्चार माध्यमहरु प्नि आत्मनिर्भर बन्न सक्ने उहाँको भनाइ छ । यसबाट नेपालको समग्र सामाजिक आर्थिक विकासमा पनि योगदान हुने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *