Saturday, January 18, 2025
Home > मुख्य समाचार > कोशी ग्याँसको सिलिण्डरबाट खुद्रा बिक्रेताहरुले ग्याँस चोरी गर्ने गरेको सम्बन्धित निकायको निष्कर्ष

कोशी ग्याँसको सिलिण्डरबाट खुद्रा बिक्रेताहरुले ग्याँस चोरी गर्ने गरेको सम्बन्धित निकायको निष्कर्ष

विराटनगर २४ कात्तिक

उपभोक्ताले खरिद गरेको कोशी ग्याँसमा झण्डै साढे ३ किलो तौल कम हुनुले मानिसले पैसा कमाउन कतिसम्म बद्मासी गर्छन् भन्ने पुष्टि गरेको छ । कोशी ग्याँसको सिलिण्डरबाट खुद्रा बिक्रेताहरुले ग्याँस चोरी गर्ने गरेको सम्बन्धित निकायले निष्कर्ष निकालेको छ । कम्पनीले प्रयोग गर्ने शिलक्याप सहजै खोल्न मिल्ने भएकाले उपभोक्ता ठगिने गरेको खुलासासमेत भएको छ । विराटनगर तीनपैनीका एक उपभोक्ताले केही दिन अघि एकजना टेम्पु चालकसँग खरीद गरेको कोशी ग्याँसको सिलबन्दी सिलिण्डरमा ३ किलो ३ सय ग्राम कम तौल भेटियो । २ वटा सिलिण्डर खरीद गरेका ती उपभोक्ताले वजन नाप्दा एउटा सिलिण्डरमा कम तौल भेटिएको थियो । उपभोक्ता ठगिमा परेपछि मकालु टेलिभिजनले प्रमुखताका साथ सो खबर प्रशारण गरेको थियो । समाचार प्रशारण भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भयो र वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा नापतौल कार्यालयसमेतले उपभोक्ता ठगिएको बिषयमा छानबीन थाल्यो । ती निकायका प्रमुख तथा प्रतिनिधिले उपभोक्ताको घरै पुगेर तौल कम भेटिएको सिलिण्डर संकलन गरि सम्बन्धित उद्योगको अनुगमन गरेका छन् । अनुगमनको क्रममा कोशी ग्याँस उद्योगले प्रयोग गर्दै आएको सिलिण्डरको सिलमा समस्या देखिएको छ । सिलिण्डरमा प्रयोग गरिने सिल सुरक्षित नरहेकाले जोसुकैले सहजै खोल्न सकिने प्रमाणित भएको छ । कम तौल भेटिएको सिलिण्डरमा कम्पनीको दोष नरहेको प्रमाणित गर्न अनुगमन टोलीकै सामुन्ने उद्योगका एकजना कामदारले सिल नतोडी क्याप खोलिदिएपछि यस्तो प्रमाणित भएको हो । सजिलै सिलक्याप खोलिएपछि अनुगमन टोलीसमेत छक्क परेको थियो । यति भएपछि अनुगमन टोलीले उद्योगले ग्याँस भर्ने र सिलक्याप लगाउने प्रबिधिको अनुगमन गरेको थियो । टोलीले सिलबन्दी गर्ने प्रबिधि कमजोर रहेको पाएपछि तत्काल प्रबिधि परिवर्तन गर्न उद्योगलाई निर्देशन दिएको छ । यसैगरी डिलर प्वाइन्टमा अनिवार्य तौलको ब्यवस्था गर्न तथा खुद्रा बिक्री गर्ने बिक्रेताको जिम्मेवारी डिलरले नै बहन गर्नुपर्ने गरी निर्देशन दिइएको वाणिज्य कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले बताउनुभयो । अनुगमन टोलीको निर्देशनपछि उद्योगले तत्कालै आफ्नो सिलिण्डरको सिललाई थप सुदृढ र सुरक्षित बनाउने प्रतिबद्धता जनाएको छ । उद्योगका प्रबन्धक सचित उपाध्यायले उपभोक्ताको घरमा कमतौलको सिलिण्डर जानुमा उद्योगको दोष नरहेको दाबी गर्नुहुँदै आगामी दिनमा सर्तकता अपनाउने बताउनुभयो । प्रबन्धक उपाध्यायले कम तौल भेटिएको उपभोक्ताको घरमै नयाँ सिलिण्डर पठाइएको जानकारीसमेत दिनुभयो । यो घटनाले उपभोक्ता जागरुकसँगै सजग हुनुपर्ने देखिएको छ । जुनसुकै कम्पनीको ग्याँस खरिद गर्दा सिलको मात्र भर नपरौं । तौल नगरी खरीद गर्दा ठगिनुपर्ने हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *