धरान १५ भाद्र
सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत धरान १७ का कोरोना संक्रमित आमाछोराको मृत्यु भएको छ ।
धरान १७ का निवासी ७४ वर्षीया महिला र उनकै छोरा ६० वर्षीय पुरुषको आज विहान ४५ मिनेटको फरकमा मृत्यु भएको हो । वृद्धा आमाको बिहान साढे ८ बजे मृत्यु भएको हो । उनलाई शनिबार राति प्रतिष्ठानमा भर्ना गरिएको थियो । मधुमेह, उच्च रक्तचापको विरामी उनमा शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरि, उनका छोराको बिहान ७ बजेर ४५ मिनेटमा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । उनलाई पनि शनिबार नै कोरोना पुष्टि भएपछि राति प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनमा मधुमेहको समस्या रहेको र कलेजोको पनि समस्या देखिएको प्रतिष्ठानले जनाएको छ । मृतकहरु रेल्वे चोकका बासिन्दा हुन् । योसँगै धरानमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुवै मृतकको शवको व्यवस्थापनको प्रक्रिया नियमानुसार हुने प्रतिष्ठानले जनाएको छ ।