Saturday, January 18, 2025
Home > आर्थिक समाचार > कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन अन्त्यसँगै पर्यटन क्षेत्रसमेत जुर्मुराउन सुरु

कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन अन्त्यसँगै पर्यटन क्षेत्रसमेत जुर्मुराउन सुरु

भोजपुर १४ असोज

दुर्गम पहाडी जिल्ला भोजपुरको पश्चिम टेम्के मैयुङ गाउँपालिका वडा नम्वर २ छिनामखुमा रहेको गोठेसिं होमस्टे अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । सडक नजिकै सञ्चानलमा रहेकाले यो होमस्टेमा आउने जानेको संख्यासमेत बढेको छ । नेपाल सरकारले एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ लाई सूचीकृत गरेसँगै यहाँ घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । फुर्सदलाई सदुपयोग गर्दै आफ्नो परिवार, साथीभाइसँग टेम्केडाँडा घुम्न आउने पर्यटकका लागि ‘गोठेसिं होमस्टे’ पनि प्रमुख रोजाइमा परेको छ । बिराटनगरबाट भोजपुर घुम्न आउँदा होमस्टे पुग्नु भएका स्कन्द घिमिरे । टेम्केमैयुङ गाउँपालिका छिनामखुको श्यामशिलामा रहेको यो होमस्टे सदरमुकामदेखि ४२ किलोमिटर पश्चिममा पर्छ । मीठो किराँती संस्कारको न्यानो अतिथि सत्कार, अग्र्यानिक मीठो खाना र आरामदायी सस्तो बासस्थानबाट सुन्दर प्राकृतिक सुन्दरता नियाल्ने पर्यटकका लागि यो होमस्टे जिल्लामा पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । पारिवारिक वातावरण, किराँती संस्कृति र स्वादिष्ट परिकाले होमस्टेको बसाई रमाइलो भएको त्यहाँ घुम्न पुग्नु भएका रबिन बाबु घिमिरेले बताउनुभयो । पुष्पलाल मध्य पहाडी राजमार्गसँगै रहेको होमस्टेमा अग्र्यानिक स्वाद र सत्कार पाइने गरिएकाले यो होमस्टेले आन्तरिक तथा बाह्य पर्यटनमा समेत टेवा पुर्याएको छ । होमस्टेलाई टेम्के मैयुङ गाउँपालिकाका साथै प्रदेश सरकारले समेत सहयोग गरेको संचालक प्रकाश राईले बताउनुभयो । टेम्केडाँडा मुन्दुम पदमार्ग पर्ने भएकाले यहाँ घुम्न आउने पर्यटकहरुका लागि एकमात्र आरामदायी बिसौनी बनेको गोठेसिं होमस्टे बस्न नचाहने कमै हुन्छन् । ५७ रोपनी जग्गामा उनले सञ्चालन गरेको होमस्टेमा टेम्के, चखेवाडाँडाको अवलोकनपछि विश्राम गर्ने पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । होमस्टेमा अहिले व्यवस्थापन गर्दै बासघर, कटेजहरु थप्त सुरु गरिएको छ । पर्यटकको स्वादका लागि माछाको परिकारका लागि सञ्चालक राईले पोखरी बनाएर ट्राउट माछा पाल्ने भएका छन् । होमस्टेलाई प्रबद्र्धन र प्रोत्साहन गर्न टेम्के मैयुङ गाउँपालिकाले भौतिक पूर्वाधारको पहुँचसमेत पुर्याएको छ । गाउँपालिकाले होमस्टेसम्म बिजुलीबत्ती र सडक पुर्याउन मद्दतसमेत गरेकोे गाउँपालिका अध्यक्ष धु्रवराज राईले बताउनुभयो । कोरोना संकटका कारण यो क्षेत्रमा आउनेहरुको संख्यामा कमि आएको भए पनि सुन्दर टेम्केडाँडा चुचुरोबाट तराईका सुन्दर हरिया फाँटहरु, कञ्चनजंगा, मकालुलगायत उत्तरतर्फ सेताम्मे मनोरम हिमश्रृंखला, सुन्दर हरिया डाँडाखर्क, खोटाङको दिक्तेल र भोजपुर सदरमुकाम र अनगिन्ती प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन सकिनेछ । यस्ता प्राकृतिक सुन्दर मनोरम स्थलहरुको संरक्षण र सम्वद्र्धनमा सबै पक्षको ध्यान जान जरुरी छ । मकालु समाचारका लागि भोजपुरबाट निरोज कोइरालाको रिपोर्ट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *