Saturday, January 18, 2025
Home > मुख्य समाचार > कोरोना महामारीको बेला पनि विराटनगरका केही सामुदायिक विद्यालयहरूद्धारा पठनपाठनलाई निरन्तरता

कोरोना महामारीको बेला पनि विराटनगरका केही सामुदायिक विद्यालयहरूद्धारा पठनपाठनलाई निरन्तरता

विराटनगर १६ असोज
कोरोना महामारी र महामारी नियन्त्रणका लागि गरिएको लकडाउन तथा निषेधाज्ञामा पनि विराटनगरका सामुदायिक विद्यालयहरूले पठनपाठनलाई निरन्तरता दिइरहेका छन् । प्रविधिको प्रयोग गरेर पठनपाठन सञ्चालन गरिरहेको विराटनगरका सामुदायिक विद्यालयहरूले जनाएका छन् । कोरोना महामारीका समयमा पनि विराटनगरका केहि सामुदायिक विद्यालयहरूले पठनपाठनलाई निरन्तरता दिएका छन् । विराटनगर स्थित पोखरीया मावि, आदर्श मावि, सत्य नारायण मावि लगायतका विद्यालयहरूले लकडाउन र निषेधाज्ञामा पनि पठनपाठनलाई निरन्तरता दिइरहेका हुन् । विद्यार्थीलाई पढ्ने वातावरण सृजना गर्न र नयाँ शैक्षिकसत्र खेर नजाओस् भन्ने उद्देश्यले प्रविधिको प्रयोग गरेर पठनपाठनलाई निरन्तरता दिइरहेको पोखरिया माध्यामिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले ५ देखि १२ कक्षासम्मका विद्यार्थीलाई अनलाइन माध्ययमबाट पठनपाठन गराईरहेको छ । तर, सामुदायिक विद्यालयहरूले सञ्चालन गरेको अनलाईन कक्षा सबै विद्यार्थी माझ पुग्न नसकेको भट्टराईले बताउनुभयो । हाल ६० प्रतिशत हाराहारी विद्यार्थी मात्रै अनलाइन कक्षामा सामेल भइरहेको भट्टराईको भनाई छ । पोखरीया स्कुलमा अहिले करिब ४० प्रतिशत विद्यार्थी अनलाईन कक्षामा समबेश भएका छैनन् । सबै विद्यार्थीको पहुँचमा इन्टरनेट उपलब्ध नहुनु, भिडियो चल्ने मोवाईल, कम्प्युटर, ल्यापटप विद्यार्थीहरूसँग उपलब्ध नहुनु आदि कारणले सबै विद्यार्थीलाई अनलाईन कक्षामा समाबेश गर्न नसक्दा बैकल्पिक शिक्षा पूर्ण प्रभावकारी भने हुन नसकेको भट्टराईले बताउनुभयो । पोखरिया माविमा मात्रै हैन आदर्श माविमा पनि अनलाईन प्रविधिबाट निरन्तर कक्षा सञ्चालन भइरहेको छ । आदर्श माविले जुम प्रविधिबाट कक्षा सञ्चालन गरिरहेको आदर्शका प्रधानाध्यपक तुलसी दुलालले बताउनुभयो । उहाँका अनुसार आदर्शले ६ देखि १२ कक्षा सम्मका विद्यार्थीलाई जुम प्रविधिमार्फत शिक्षा प्रदान गरिरहेको छ । विद्यालयले एक पटकमा ३ हजार विद्यार्थी अटाउने जुम एप्लिकेशन नै खरिद गरेको छ । अनलाइनको पहुँच नभएका विद्यार्थीलाई पनि समेट्ने उद्देश्यले विद्यालयले शिक्षकहरूको ग्रुप बनाएर टोलटोलमै पुगेर अफलाइन शैक्षिक सामाग्री मार्फत पठनपाठन सञ्चालन गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।
विराटनगर महानगरपालिकाका शिक्षा शाखाका अधिकृत कृष्ण भट्टराईले विराटनगरका ठूला सामुदायिक विद्यालयहरूले अनलाइन कक्षाबाट निरन्तर पठनपाठन रहेको बताउनुभयो । अनलाइनको पहुँचमा नभएका विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न शिक्षा निर्देशिकाले गरेको व्यवस्था बमोजिमका सबै विधि अपनाईने उहाँले स्पष्ट पार्नुभयो । घरमा कम्प्युटर, ल्यापटप, राम्रो मोवाइल र इन्टरनेट सुविधा भएका विद्यार्थीहरूका लागि अनलाइन कक्षा प्रभावकारी भए पनि इन्टरनेट, ल्यापटप मोवाइलको पहुँच नभएका विद्यार्थीका लागि अनलाइन कक्षा आकाशको फल जत्तिकै भएको छ । अनलाइन कक्षाकै कारण केहि विद्यार्थी निरन्तर पढ्ने र केहि विद्यार्थीले पढ्न नपाउने अवस्था छ । स्रोत साधन नभएकै कारण पढाइबाट बञ्चित भएका विद्यार्थीहरूका लागि सरकारले प्रविधि र इन्टरनेटको पहुँच पुर्याउन विशेष व्यवस्था गर्न जरुरी देखिन्छ । मकालु समाचारका लागि विनोद सुवेदीको रिपोर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *