Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > कोरोनाको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको सांसदहरुको दावी

कोरोनाको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको सांसदहरुको दावी

काठमाण्डौ ९ असोज
सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको बताएका छन । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा हिजो भएको छलफलमा सांसदहरुले कोरोनाका विषयमा तथ्यगत जानकारी सम्प्रेषण हुन नसक्दा जनतामा आतंक फैलिएको बताएका हुन । सांसद रामचन्द्र राईले कोरोना महामारी हो की सरुवा रोग मात्रै हो भन्ने कुरा प्रष्ट पार्नुपर्ने बताउनुभयो । स्वास्थ्य मन्त्रालयका अधिकारी सहभागि बैठकमा उहाँले सरुवा रोग मात्रै हो भने कोको होलो किन गर्नुपरेको भन्दै प्रश्न गर्नुभयो । महामारी नै हो भने सामान्य अवस्थाको मृत्युदर र अहिलेको मृत्युदरको विश्लेषण हुनुपर्ने उहाँले बताउनुभयो ।
सांसद कोमल वलीले लक्षण देखिएकालाई मात्रै पीसीआर परीक्षण गर्ने नीति ठीक नभएको बताउनुभयो । सांसद गोपी बहादुर सार्कीले कोभिडको विषयमा बढी चर्चा र आतंक फैलाइएको बताउनुभयो । सांसद शेखर कुमार सिंहले स्थानीय तहमा अस्पतालको संख्या मात्रै नभएर जनशक्ति पनि बढाउनेतिर ध्यान दिनुपर्ने बताउनुभयो । सांसद खिमलाल भट्टराईले पछिल्लो समय समाजमा लक डाउनको आतंक फैलिएकोले अब लक डाउन गर्न नपर्ने गरी प्रोटोकल बनाउनुपर्ने बताउनुभयो । छलफलमा सहभागि मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीले अहिले भेन्टिलेटर भन्दा अक्सिजनको उपचार विधि लाभदायिक देखिएको बताउनुभयो । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाको भ्याक्सिन बनेपछि नेपाललाई सहज रुपमा उपलब्ध गराउन भारत, रसिया र चीन लगायतका मुलुकसँग दुईपक्षिय कुराकानी भइरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *