Saturday, January 18, 2025
Home > आर्थिक समाचार > कोरोनाको असर पार्टी प्यालेस तथा रेस्टुरेन्ट व्यवसाय लामो समय बन्द हुँदा व्यवसायीहरु पलायन हुने अवस्थामा, कतिपय रेस्टुरेन्टमा कुखुरा पाल्न सुरु 

कोरोनाको असर पार्टी प्यालेस तथा रेस्टुरेन्ट व्यवसाय लामो समय बन्द हुँदा व्यवसायीहरु पलायन हुने अवस्थामा, कतिपय रेस्टुरेन्टमा कुखुरा पाल्न सुरु 

काठमाण्डौ २२ भाद्र

कोभिड १९ का कारण पार्टी प्यालेस तथा रेस्टुरेन्ट व्यवसाय लामो समय बन्द हुँदा व्यवसायीहरु पलायन हुने स्थितिमा पुगेका छन् । जावलाखेल स्थित बगैचा रेस्टुरेन्ट, बार एण्ड ब्याङक्वेटमा अहिले कुखुरा पालन सुरु भएको छ । रेस्टुरेन्टका व्यवस्थापक अर्जुन दाहालले कोभिडका कारण लामो समय व्यवसाय सञ्चालन गर्न नसकिएपछि लोकल कुखुरा, टर्कि, कडकनाथ, कालिज लगायत पाल्न थालिएको बताउनुभयो । बैंकको ऋण तिर्न, घरभाडा तिर्न र कर्मचारीलाई तलब खुवाउन समस्या हुने देखेपछि लोकल कुखुरा लगायतका चराहरु पाल्न थालिएको पनि उहाँले बताउनुभयो । करिब ५ करोड रुपैयाँ लगानीमा सञ्चालित बगैचाले रेस्टुरेन्ट सेवा, पार्टीप्यालेस लगायतको सेवा उपलब्ध गराउँदै आएको थियो । २५ जनाले रोजगारी पाउँदै आएको रेस्टुरेन्टमा अहिले २ जना मात्रै कार्यरत छन । रेस्टुरेन्टमा पालिएको कुखुरा, टर्कि, कालिज लगायतको खपत सहज स्थिति भएपछि आफ्नै रेस्टुरेन्टमा गर्ने योजना रहेको पनि दाहालले बताउनुभयो । रेस्टुरेन्ट व्यवसाय जस्तै देशभर सञ्चालित अधिकांश पार्टी व्यालेस व्यवसायीहरु पनि पलायन हुने अवस्थामा पुगेका छन् । वैशाख, जेठ र असार महिना पार्टी प्यालेस व्यवसाय सबैभन्दा बढी चल्ने समय पनि हो । तर ती महिनामा पार्टीप्यालेस सञ्चालन गर्न नपाउँदा अर्बौं रुपैयाँ नोक्सान भएको व्यवसायीहरुले बताएका छन् । पार्टीप्यालेस व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले वार्षिक ३ अर्ब रुपैयाँ भन्दा बढी राजस्व सरकारलाई बुझाउँदै आएको क्षेत्रको यो व्यवसायमा अर्बौ रुपैयाँ नोक्सानी भइसकेको बताउनुभयो । महासंघमा आवद्ध देशभरका पार्टी प्यालेस व्यसायमा ५० हजार भन्दा बढी व्यक्तिले रोजगारी पाउँदै आएका छन् । जसमध्ये १५ प्रतिशत स्थायी रुपमा कार्यरत छन् । कोभिड कै बिचमा पनि व्यवसाय सञ्चालन गर्नका लागि सरकारले मापदण्ड तयार गरिदिनुपर्नेमा पाण्डेले जोड दिनुभयो । महासंघमा आवद्ध रहेका ४५ जिल्लाका ७ हजार भन्दा बढी पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सहित सबै जिल्लाका व्यवसायीहरु कसरी भाडा तिर्ने र कर्मचारीको व्यवस्थापन गर्ने भन्ने चिन्तामा रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *