विराटनगर ९ असोज
केही दिन यताको अविरल वर्षाका कारण विराटनगरका अधिकांश वडाका बस्तीहरु जलमग्न भएका छन । लगातार परेको पानीले निकास नपाउँदा महानगरका दक्षिणीक्षेत्रका बस्तीहरु डूबानमा परेका छन । बर्षाको पानीले निकास नपाउँदा महानगरपालिकाको दक्षिणी वडाहरु डुबानमा परेका हुन । ती क्षेत्रका सडकहरुका कतिपय ठाँउमा २ फिट सम्म पानी जमेको छ । सडकमा जमेको पानी स्थानीयको घरहरुमा समेत प्रवेश गरेको छ । जसका कारण सर्वसाधारणको जनजीवन असहज भएको छ । प्रदेश प्रहरी कार्यालय नजिकै रहेको विराटनगर १६ को कटनमिल टोलको सडकबाटै खोला बगेको छ । उक्त सडकबाट दुई फिट जति पानीको तीब्र बहाव बगेको छ । बर्षातको पानीको उचित निकास नभएको तथा होचो ठाँउ भएकाले सामान्य बर्षामा बस्तीका सडक तथा टोलहरु जलमग्न हुने गरेको स्थानीय सुरज रायले बताउनुभयो । विराटनगर–१६ कै बर्मा टोलपनि पूर्णरुपले जलमग्न भएको छ । उक्त क्षेत्रका सडकहरु पानीले भरिएको छ भने स्थानीयबासीको घरआँगन पोखरीमा परिणत भएको छ । बर्मा टोलको ५० बढी परिवारको घरआँगन जलमग्न भएको छ । बर्माटोलमा कालोपत्रे सडक र दुवै छेउ नाला निर्माण गरिएको भएपनि निर्मित नालाहरुले पानीको बहाव नथेग्ने भएका कारण ओभरफ्लो भएर जलाम्मे अवस्थाको पीडा भोग्नु परेको स्थानीयले बताएका छन । सामान्य पानी पर्ने बित्तिकै पानी जम्ने बर्मा टोल पछिल्लो समयको वर्षामा पुरै जलाम्मे भएको स्थानीय राधा गुरागाईंले बताउनुभयो । सोही क्षेत्रमा पर्ने विराटनगर आँखा अस्पतालको सडकमा तीन फिटसम्म पानी जमेको छ । यसैगरी खाकी बाबा आश्रम र भेटिनरी अस्पताल लगायतका कार्यालयहरुको प्राङणमा समेत पानी जमेको छ । जसका कारण सेवाग्राही तथा कार्यालयका कर्मचारीहरुले सास्ती खेप्नु परेको छ । बर्षातको समयमा हुने पानीको बहावलाई थेग्न नसक्नेगरि नालाहरु निर्माण गरिएको तथा निर्मित नालाहरु समय समयमा सरसफाई नगरिने प्रबृतिका कारण बर्षातको समयमा महानगरवासीले वर्षेनी जल्लामे अवस्थाको पीडा खेप्दै आएका छन । आगामी केही दिनसम्म लगातार पानी पर्नसक्ने पूर्वानुमान गरिएका कारण महानगरवासीले थप पीडा झेल्नुपर्ने अवस्था देखिन्छ ।