काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको बाटो पहिल्याउन बनाइएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाइएको थियो । नेकपाको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने धारणा राखेपछि स्थगित हुँदै आएको बैठक अझै सुरु हुन सकेको छैन । नेकपाका अध्यक्षद्वयको अनौपचारिक छलफलपछि महासचिव विष्णु पौडेल नेतृत्वमा कार्यदल बनाइएको थियो । कार्यदलले लगातारको छलफलपछि प्रतिवेदन तयार पारेको हो । अब उक्त प्रतिवेदन दुई अध्यक्षले छलफलपछि सचिवालय बैठकमा पेस गर्नेछन् । प्रतिवेदनमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनु नपर्ने उल्लेख छ । यस्तै संघीय मन्त्रिपरिषद तथा प्रदेश सरकारको पुर्नगठन गर्नुपर्ने उल्लेख गरिएको छ । यसैगरी सरकारले गर्ने नियुक्ति, सरुवा बढुवा तथा महत्वपूर्ण निर्णयमा पार्टीमा छलफल गरिनुपर्ने उल्लेख गरिएको कार्यदलका एक सदस्यले बताएका छन ।