Saturday, January 18, 2025
Home > मुख्य समाचार > कहिलो होलात ? नेपाल खानेपानी संस्थानले विराटनगरमा वितरण गरेको पानी पिउन योग्य

कहिलो होलात ? नेपाल खानेपानी संस्थानले विराटनगरमा वितरण गरेको पानी पिउन योग्य

विराटनगर १२ असोज

नेपाल खानेपानी संस्थानले विराटनगरमा वितरण गरेको पानी पिउन उपभोक्ता हचिकिचाउने गरेका छन् । विराटनगरका उपभोक्ता संस्थानको पानी पिउन योग्य छ भन्नेमा विश्वस्त छैनन् । नेपाल खानेपानी संस्थानले विराटनगरमा १२ हजार घरधुरीमा धारा जडान गरेको छ । धारा जडान भएका मध्ये अधिकाँश परिवारले संस्थानको पानी पिउनका लागि प्रयोग गर्दैनन् । धेरैजासोले गाइ भैसीलाई खुवाउने, लुगाधुने, भाँडा माझ्ने लगायतका काममा मात्रै संस्थानको पानी प्रयोग गर्दै आएका छन् । खानेपानी संस्थानको धारा जडान गरेको भए पनि संस्थानले बितरण गरेको पानी पिउनका लागि प्रयोग नगरेको विराटनगरका उपभोक्ता कैलाश साहले बताउनुभयो । संस्थानले शुद्ध पानी बितरण गरेको विश्वास गर्ने स्थिति नरहेकाले संस्थानको पानी पिउनका लागि प्रयोग नगरेको उहाँको भनाइ छ ।
संस्थानले बितरण गरेको पानी गुणस्तरीय नभएको अर्का उपभोक्ता दिपक कटुवाल बताउनुहुन्छ । संस्थानको पानीमा लेदो र फोहोर मिसिएर आउने गरेको छ । सफा पानी देखिए पनि वोतलमा राख्दा मसिना धुलोका कणहरू देखिने गरेको उहाँले बताउनुभयो ।  ५ वर्ष पहिले विराटनगरमा फैलिएको जण्डिसको कारण खानेपानी संस्थानकै पानी भएको आरोप लागेपछि विराटनगरवासीले धाराको पानी खान छाडेका हुन् । खानेपानी संस्थानले उपभोक्तालाई गुणस्तरीय पानी बितरण गरेको आभास अझै गराउन सकेको छैन । शुद्ध खानेपानीका लागि पुराना पाइप फेर्ने, फिल्टरको व्यवस्था गर्नेलगायतका कुनै पनि सुधारको काम संस्थानले अझैसम्म सुरु गरेको छैन । खानेपानी सुधारका लागि संस्थानले हेलचक्राइँ गरेका कारण ५ वर्ष पहिलेकै महामारी फेरि पनि फैलने डर उपभोक्तालाई छ । धाराको पानी धमिलो आउने र सङ्लो आए पनि वोतलमा हालेर राख्दा फोहोरका कणहरू देखिने गरेको अर्का उपभोक्ता वकिल कार्की बताउनुहुन्छ । संस्थानले महानर क्षेत्रमा शुद्ध पानी बितरण गरेको छैन । महानगरपालिका र संस्थानले समन्वय गरेर फिल्टरको व्यवस्था गरी पानीको गुणस्तर सुधार्न उहाँले आग्रह पनि गर्नुभएको छ । यता खानेपानी संस्थानले बितरण गरेको पानी पिउन योग्य रहेको खानेपानी संस्थान विराटनगरका प्रमुख शैलेन्द्र साह दाबी गर्नुहुन्छ । संस्थानले पानीको गुणस्तर परिक्षण गरेर मात्रै उपभोक्ताका धारामा पठाउने गरेका कारण पानी दूषित नभएको उहाँको दाबी छ । खानेपानी संस्थान विराटनगरले पञ्चायती कालमै विच्छ्याएको पाइपलाइनबाट अझै पनि खानेपानी वितरण गरिरहेको छ । पुराना र जीर्ण पाइपलाइनका कारण जुनसुकै वेला पाइप फुट्ने र ढलको पानी पस्ने गरेको छ । यतिमात्रै हैन पानीमा अत्याधिक आइरन भएका कारण धाराबाट धमिलो पानी र लेदो आउने गरेको छ । पुरानो पाइपलाईन हटाएर नयाँ पाइपलाइन बिस्तार गर्नु अति आबश्यक भए पनि बजेट अभावका कारण पाइपलाइन फेर्न समस्या भएको खानेपानी संस्थान विराटनगरले जनाएको छ । संस्थानले गुणस्तरिय पानी बितरण नगर्दा घरमा धारा जडान गरेर पनि खानेपानीका लागि बैकल्पिक स्रोत खोज्न विराटनगरका उपभोक्ता बाध्य छन् । धाराको पानी गुणस्तरीय नभएकै कारण खानेपानीका लागि उपभोक्ताले दोहोरो मूल्य चुकाउनु परिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *