नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता दिनानाथ शर्माले कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा २ प्रतिशतभन्दा कम बजेट खर्च भएको बताउनुभएको छ ।
संघीय संसद राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा सांसद शर्माले यस्तो बताउनुभएको हो । सामान्य प्रशासन मन्त्रालयले समयमै कर्मचारी व्यवस्थापन गर्न नसक्दा, समयमा ऐन नियम बनाउन नसक्दा र प्रदेश लोकसेवाको गठनमा तदारुकता नदेखाउँदा खर्चको अवस्था न्यून देखिएको उहाँले बताउनुभयो । कर्णालीका विभिन्न स्थानीय तहहरुमा गएर बुझ्दा कर्मचारीको अभावकै कारण दिगो विकासको लक्ष्य पुरा गर्न कठिन भएको उहाँले बताउनुभयो । समिति बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले स्थानीय तहहरुमा बजेट कम खर्च हुनुको कारण कर्मचारीको अभाव मात्रै नभएको बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत भएको १ लाख ३७ हजार ६१२ दरबन्दीमा समाउोजनको समयमा मौजुदा जनशक्ति ९९ हजार ५७२ स्वीकृत दरबन्दीको अनुपातमा ३८ हजार ४० कर्मचारीको अभाव रहेको मन्त्रालयले जनाएको छ ।