मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना लागू गरेर लाभ लिन कुनै शंका गर्नु नपर्ने सरोकारवालाहरुले बताएका छन् ।
आज राजधानीमा भएको छलफलमा संसदको अर्थ समितिका सभापति कृष्ण दाहालले एमसीसी परियोजनाबाट लाभ लिन कुनै शंका गर्नु नपर्ने बताउनुभएको हो । एउटा सम्झौताकै कारण अमेरिकी सेना नेपाल आएर कब्जा गर्ने परिस्थिती सिर्जना हुन्छ भन्ने कमजोर मानसिकता सामाजिक सञ्जालमा देखिएको उहाँको भनाई छ । एमसीसीको विषय संसदमा गएको अवस्थामा बाहिर नेताहरुले हल्ला गर्नुको कुनै अर्थ नरहेको उहाँको भनाइ छ । सच्याउनुपर्ने विषयहरु छन् भने कुटनीतिक तवरबाट छलफल गरेर सच्याउनु पर्ने उहाँले बताउनुभयो । पूर्व राजदुत डा. शंकर शर्माले लिइरहेको र लिने सहयोग नेपालको पक्षमा छ भने केही गाह्रो नहुने बताउनुभयो । अमेरिकाले आर्थिक सहयोग पनि गर्ने, सुरक्षामा पनि सहयोग गर्ने, सरकारलाई पनि सहयोग गर्ने भनेपछि इण्डो प्यासिफिकको रिपोर्ट उल्लेख गरेपनि नेपालले सहि नै नगरेको विषयमा जवरजस्ती गर्न नआउने तर्क उहाँले गर्नुभयो ।
विवेकशील नेपाली दलका सूर्यराज आचार्यले नेपालीहरुको अकर्मन्यताले एमसीसीको विषयमा विवाद उत्पन्न भएको बताउनुभएको छ । नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र विकासका नीतिहरु स्पष्ट गर्न सकेमा एमसीसीमा जस्तो अवरोध पुनः नदोहोरिने बताउनुभयो ।
नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लले बाहिर आएजस्तो नेपाल आएर बेस बनाउने हो की, नेपालमै बस्ने होकी भन्ने आशंकाहरु सहि नभएको बताउनुभयो ।