Saturday, January 18, 2025
Home > मुख्य समाचार > उपचारमा लागेको खर्च तिर्न नसक्दा सिरहाका एक बालकको शव तीन दिनदेखि विराट नर्सिङ होममा

उपचारमा लागेको खर्च तिर्न नसक्दा सिरहाका एक बालकको शव तीन दिनदेखि विराट नर्सिङ होममा

विराटनगर २९ असोज

अस्पतालमा लागेको उपचार खर्च तिर्न नसकेका कारण सिरहाका एक विपन्न परिवार मृत्यु भएका आफ्ना दुई वर्षे छोराको शव अस्पतालमै छाडेर जाने बाध्यतामा पुगेका छन् । अस्पतालले तोकिदिएको न्यूनतम शुल्कसमेत तिर्न नसकेका कारण उनीहरु अस्पतालमै शव छाडेर जाने निष्कर्षमा पुगेका हुन् । विराटनगरस्थित विराट अस्पतालमा मृत्यु भएका सिराहको मानपुर घर भएका २ वर्षिय बालक सिद्धार्थ सदाका आफन्तले अस्पतालमै शव छाडेर जानुपर्ने बाध्यता सिर्जना भएको छ । अस्पतालमा उपचारका लागि ल्याइएका बालक सिद्धार्थको सोमबार मृत्यु भएको थियो । सिद्धार्थको आन्द्रामा समस्या आएपछि उनलाई उपचारका लागि विराट नर्सिङ्ग होममा भर्ना गरिएको थियो । असोज १५ भर्ना गरिएका बालकको आन्द्रा फुटेको भन्दै अस्पतालले पहिलो पटक शल्यक्रिया गरिदिएको थियो । अस्पतालका सर्जन डा. आर. के. सिंहले बालकको शल्यक्रिया गरेको पीडित परिवारले जानकारी दिएका छन् । शल्यक्रिया गरेको एक सातापछि पुनः स्वास्थ्यमा समस्या आयो । असोज २३ मा फेरि पनि उनको शल्यक्रिया गरिएको थियो । दोस्रो पटक शल्यक्रिया गरेको सोमबार साँझ बालकको मृत्यु भएको थियो । सिद्धार्थको दुई पटक शल्यक्रियासहितको सम्पूर्ण खर्च करिब ३ लाख रुपैयाँ भएको मृतकका आफन्तले जानकारी दिएका छन् । पीडित परिवारले हालसम्म अस्पताललाई तिरेको ७० हजार रकमसमेत गाउँबाटै ऋण काढेर ल्याएको बताएका छन् । मृतक बालकका बाबुको समेत २० दिनअघि सडक दुर्घनामा मृत्यु भइसकेको छ । ऋण काढेर ल्याएको रकमसमेत उपचारमै सकिएपछि आफूले छोराको शव पाउन नसकेको सुनिता सदाले गुनासो गर्नुभयो । अस्पतालबाहेक औषधि पसलबाट लगिएको औषधिको मूल्यसमेत ७० हजार पुगेको छ । जसमध्ये मृतक परिवारले हालसम्म ९ हजार रुपैयाँ मात्र तिर्न सकेका छन । सुरुमा ७० हजार तिरेपछि अस्पतालले १ लाख ९० हजार रुपैयाँ छुट गरेकाले अहिले ४० हजार रुपैयाँ बुझाएपछि मात्र शव लान दिने अस्पतालले भन्दै आएको मृतकका आफन्तले बताएका छन् । अस्पतालले ४० हजार रुपैयाँ बुझाए शव लान दिने बताए पनि त्यति रकमसमेत आफन्तसँग नभएपछि पीडित परिवार समस्यामा परेका छन् । विराट अस्पतालका प्रशासन प्रमुख पदम बिडलाले गम्भिर अवस्थामा आएको विरामीको उपचारको क्रममा मृत्यु हुन पुगेको बताउनुभयो । उहाँले सुरूमै आफूहरुले बालकको अवस्था गम्भीर रहेको विषयमा परिवारलाई जानकारी गराएको बताउनुभयो । प्रशासन प्रमुख बिडलाले आर्थिक अवस्था नाजुक भएको परिवार भएकाले भारी छुट गरेर न्यूनतम शुल्क मात्र दिन भनिएको प्रतिक्रिया समेत दिनुभयो । बालकको शव बुझ्न नपाएका मृतक परिवार अस्पताल सामुन्नेको एक मेडिकल पसलको भर्याङमा शव कुरेर बसिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *