Saturday, January 18, 2025
Home > मुख्य समाचार > उच्च राजनीतिक नेतृत्वले नै स्वास्थ्य सुरक्षा सम्बन्धि प्रोटोकोल उल्लंघन गर्ने गरेको फेला

उच्च राजनीतिक नेतृत्वले नै स्वास्थ्य सुरक्षा सम्बन्धि प्रोटोकोल उल्लंघन गर्ने गरेको फेला

विराटनगर २६ असोज

उच्च राजनीतिक नेतृत्वले नै स्वास्थ्य सुरक्षा सम्बन्धि प्रोटोकोल उल्लंघन गर्ने गरेको पाइएको छ । लापरवाही गरैकै कारण संघीय सरकारका मन्त्री योगेश भट्टराई कोरोना संक्रमित हुनुभएको छ । विराटनगरमा आयोजित दुईवटा कार्यक्रममा सहभागि भएर राजधानी काठमाण्डौ फर्किनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला भ्रमणपछि काठमाडौं पुगेर जाँच गर्दा मन्त्री भट्टराईलाई शनिबार कोरोना पुष्टि भएको हो । शुक्रबार ज्वरो आएपछि शनिबार बिहान परीक्षण गर्दा आफु संक्रमित भएको मन्त्री भट्टराईले समाजिक संजालमार्फत जानकारी दिनुभएको छ । भट्टराईले आफूसँग सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य समस्या देखिए पिसिआर परीक्षण गर्न आग्रहसमेत गर्नुभएको छ । असोज १९ मा मन्त्री भट्टराई विराटनगरस्थित एक होटलमा आयोजित विमानस्थलको स्तरोन्नती सम्बन्धि कार्यक्रममा सहभागि हुनुभएको थियो । दुईसय बढीको सहभागीतामा आयोजित कार्यक्रममा सहभागी मन्त्री भट्टराईले मास्क नलगाई प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको थियो । दर्शकदीर्घामा रहेका प्रायले मास्क लगाईरहँदा स्टेजमा आसिन उच्च राजनीतिक नेतृत्वका अधिकांश मास्कबिहीन अवस्थामा थिए । मन्त्री भट्टराईसंगै स्टेजमा रहनुभएका प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, प्रदेशका पर्यटनमन्त्री जगदिसप्रसाद कुसियैत, आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङबो, पुर्वमन्त्री शिवकुमार मण्डल र योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलसमेत मास्क नलगाई बस्नुभएको थियो । प्रदेशका पर्यटन मन्त्री कुसियत पनि अहिले होम क्वारेन्टिनमा हुनुहुन्छ । संक्रमणकालिन अवस्थामा कार्यक्रममा सहभागि हुनुभएकोमा मुख्यमन्त्री राईले पर्यटनमन्त्री भट्टराई बिषेश धन्यबाद ज्ञापनसमेत गर्नुभएको थियो ।  स्टेजमा बसेका मध्ये प्रदेशका कानुनमन्त्री हिक्मतकुमार कार्कीले बेलाबेलामा मास्क लगाउने र फुकाल्ने गर्नुभएको थियो । मंचको दुई किनारमा बस्नुभएका सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने मास्क लगाउनुभएको थियो । मन्त्री घिमिरेले यसअघि नै कोभिड १९ बाट संक्रमणमुक्त भइसक्नुभएको छ । मंचमा बसेकामध्ये प्रदेश राज्यमन्त्री जसमाया गजमेरले समेत मास्क लगाउनुभएको थियो भने उहाँकै छेउमा बस्नुभएका अर्का राज्यमन्त्री बिजयकुमार विश्वास समेत मास्कबिहीन अवस्थामै हुनुहुन्थ्यो । स्टेजको अवस्था हेर्दा लाग्थ्यो मानौ भीभीआईपीहरुलाई संक्रमणको जोखिम नै छैन । यो अवस्थाको बिश्लेषण भन्दापनि कटहरी गाँउपालिका परिसरमा टाँसिएको यो सचेतनालाई सबैले मनन गर्ने हो कि ? यहाँ लेखिएको छ । ‘सावधान म बाट तपाईलाई कोरोना सर्नसक्छ’ । यति सोचे मात्र पनि संक्रमण फैलन नदिन मद्दत पुग्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *