Saturday, January 18, 2025
Home > मुख्य समाचार > उच्च मनोबल बनाएमा कोरोनालाई सहजै परास्त गर्न सकिने संक्रमणमुक्त व्यक्तिहरुको अनुभव

उच्च मनोबल बनाएमा कोरोनालाई सहजै परास्त गर्न सकिने संक्रमणमुक्त व्यक्तिहरुको अनुभव

विराटनगर १५ भाद्र
यतिबेला कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व समुदाय नै आतंकित छ । संक्रमित थपिने क्रम जारी रहे पनि उपचारपछि निको हुनेको संख्या पनि दिनानु दिन बढ्दै गएको छ । उच्च आत्मबलका साथ खानपानमा ध्यान दिएमा कोरोनालाई सहजै परास्त गर्न सकिने संक्रमणबाट निको भएकाहरुको अनुभव छ । कोरोना लाग्दैमा आत्तिनुपर्ने अवस्था नरहेको उनीहरुको भनाइ छ । कोरोना भाइरसका कारण आममानिस त्रसित भइरहेका बेला निको भएर फर्किएकाहरु भने उच्च आत्मबल बनाएमा कोरोनालाई सहजै परास्त गर्न सकिने बताउँछन् । कोरोनाका बारेमा बढी मनोवैज्ञानिक त्रास फैलाउने काम भएकोको संक्रमणबाट निको भएकाहरुको भनाइ छ । कोरोना सामान्य रुखा खोकी नै रहेको उनीहरुको भनाइ छ । कोरोना संक्रमणलाई परास्त गरेका अग्रज पत्रकार मोहन भण्डारी कोरोनाका बारे चाहनेभन्दा बढी हल्ला गरिएको बताउनुहुन्छ । कोरोना लाग्दैमा डराउनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । कोरोना लागेमा आफ्नै दैनिकीमा चाहिं परिवर्तन गर्नुपर्ने उहाँको सुझाव छ । घरभित्रै बस्न, शारीरिक व्यायाम गर्न, मनतातो पानीसँगै पोषणयुक्त खानेकुरा खान उहाँले सुझाव दिनुभयो । कोरोनाका बारेमा आवश्यकताभन्दा बढी नकारात्मक हल्ला फैलाउने काम भएको संक्रमणबाट निको हुनुभएका अर्का अग्रज पत्रकार शेखर रेग्मीको भनाइ छ । उहाँले होम आइसोलेसनमै बसेर कोरोनालाई परास्त गर्नुभयो । होम आइसोलेसनमा बस्दा स्वास्थ्य अवस्थाबारे सरकारी निकायबाट कसैले पनि सोधीखोजी नगरेको उहाँको गुनासो छ । हल्लाको पछि नलागी स्वास्थ्य सुरक्षामा ध्यान दिन पत्रकार रेग्मीले पनि सुझाव दिनुभयो । कोरोना ठूलो रोग नभएको उहाँको अनुभव छ । अन्य रोग लागेर पनि मानिसको मृत्यु भइरहेको बताउँदै रेग्मीले आत्मबल उच्च बनाएर खानेकुरामा ध्यान दिएमा कोरोनालाई सहजै परास्त गर्न सकिने बताउनुभयो । कोरोना सामान्य रुघाखोकीजस्तै रोग भएको रेग्मीको भनाइ छ । सरकारी अस्पतालमा उपचार पाएर नभई आफ्नै आत्मबलका कारण कोरोनालाई परास्त गरेको अनुभव सुनाउनुहुन्छ संक्रमणबाट निको हुनुभएका युवा निकेश पोखरेल । उहाँ प्रदेश सरकारले निर्माण गरेको विराटनगरस्थित कोभिड–१९ अस्पतालमा उपचार गरेर घर फर्किनुभएको छ । उहाँमा संक्रमणको कुनै लक्षण थिएन । सामान्य अवस्थामा कोरोना लाग्दैमा कसैको पनि मृत्यु नहुने उहाँको दाबी छ । कोरोनाका कारण मानिसको आनीबानी र व्यवहारमा भने परिवर्तन आएको पोखरेलले बताउनुभयो । उहाँले पनि कोरोनाबाट सचेत हुन तर आतंकित भने नहुन सुझाव दिनुभयो । अहिलेसम्म कोरोनाको औषधि बन्न सकेको छैन । कतिपय मुलुक औषधि बनाउन लागि परेका छन् । औषधि नभए पनि संक्रमितलाई सामान्य ज्वरो, रुघा खोकी लागेको खण्डमा सिटामोल, एलेग्रा खाएर संक्रमितहरु निको भएको कोशी प्रादेशिक अस्पतालका मेसु डा. चुमनलाल दासको भनाइ छ । उहाँले कोरोना लागे पनि सर्तकता अपनाएमा आफै निको हुने बताउनुभयो । उहाँले रोगबाट सर्तकता अपनाउन सुरुमै ध्यान नदिएमा जटिल अवस्था आउन सक्नेतर्फ भने सचेत गराउनुभयो । संक्रमित हुने क्रम सँगसँगै निको हुनेको संख्या पनि बढ्दै गएको छ । यसलाई सामान्य रुपमा लिँदै सचेतना अपनाउने हो भने संक्रमणबाट निको भएकाहरुले भनेजस्तै कोरोनालाई सहजै परास्त गर्न सकिन्छ । त्यसका लागि नेपाल सरकारले बनाएका स्वास्थ्य मापदण्डको भने अक्षरशः पालना गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *