एजेन्सी ५ कात्तिक
किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संकरणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । दुबईमा गएराति भएको खेलमा पन्जाबले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको एकसय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा ग¥यो । पन्जाबको जितमा निकोलस पुरनले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । ग्लेन म्याक्स्वेल ३२ रनमा आउट हुँदा दिपक होडाले अविजित १५ रन बनाए । यस्तै क्रिस गेलले २९ रन जोड्दा कप्तान केएल राहुलले १५ रन बनाए । दिल्लीका कागिसो राबडाले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर एकसय ६४ रन बनाएको थियो । दिल्लीकालागि शिखर धवनले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ्स खेले । धवनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन् । धवनले आईपीएल इतिहासमा लगातार दुई शतक बनाउने खेलाडीको कीर्तिमानसमेत बनाए । धवनले यसै खेलबाट आईपीएलमा ५ हजार रन समेत पुरा गरेका छन् । पन्जाबका मोहमद शामीले २ विकेट लिए । यो जितसँगै पन्जाबले दिल्लीसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो । जितपछि पन्जाबले १० खेलमा ८ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ । दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीले १० खेलमा १४ अंक जोडेको छ । दिल्ली शीर्ष स्थानमा यथावत छ । पन्जाबविरुद्धको खेलमा पनि दिल्लीले सन्दीप लामिछानेलाई मौका दिएन । सन्दीप लगातार १० खेलमा दिल्लीको प्लेइङ सेट बाहिर रहेका हुन् ।