काठमाण्डौ १ कार्तिक
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आएपनि पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गर्नुभएको छ । हिजो ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिकटन मल हिजोकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताउनुभएको हो । उहाँले तत्काल ५ लाख मेट्रिकटन मल ल्याउन भगवान शिव वा ब्रम्हा आएपनि नसक्ने टिप्पणी गर्नुभएको छ । कलकत्ताको पोष्टबाट हिजोकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालले बताउनुभयो । मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताउनुभएको छ । अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तनको बारेमा कम आलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको समेत उहाँले बताउनुभयो । कृषि प्राविधिकहरुले प्रविधिभन्दा माथि उठेर काम गर्न सकेमात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव भएको बताउनुभयो ।