Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > १ नम्बर प्रदेशसभामा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक माथिको छलफल जारी

१ नम्बर प्रदेशसभामा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक माथिको छलफल जारी

विराटनगर । १ नम्बर प्रदेशसभामा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक माथिको छलफल जारी छ ।

आजको छलफलमा भाग लिने सांसदहरुले सरकारले रातो किताब मोटो पार्न जथाभावी योजना समावेश गरेको र १ हजार रुपैयाँ राखेर पनि बजेट छुट्याएको भन्दै आलोचना गरेका छन् । संसदमा बोल्दै सांसद विष्णुमाया तुम्बाहाम्फेले रातो किताबबाट आफू निराश भएको बताउनु भयो । बजेट र योजनाहरुले सुखी र समुन्नत प्रदेश निर्माणका साथै समाजवाद उन्मुख समाज तयार पार्ने भनिएको भएपनि त्यो लक्ष्य हासिल हुने खालको भने नरहेको उहाँले बताउनु भयो ।  यस्तै सांसद लोकप्रसाद संग्रौलाले रातो किताब महाभारतकै साइजमा निकालिएको भएपनि प्रदेशलाई गौरव गर्ने खालका कुनै पनि काम नदेखिएको बताउनु भयो । उहाँले प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले आफ्नो नेतृत्वको क्षमता देखाउन नसकेको बताउनु भयो । यस्तै सांसद प्रतापप्रकाश हाङमाङले ताप्लेजुङमा मात्रै १० रुपैयाँ बजेट छुट्याएका योजना १० वटा भएको भन्दै त्यस्तो कसरी भएको भनी प्रश्न गर्नुभयो । छलफलका क्रममा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले भने १ हजार रुपैयाँ राखेका झण्डै १ हजार योजना रातो किताबमा रहेको स्वीकार गर्नु भयो । त्यसो गर्नुको कारण सबै सांसदहरुको माग सम्बोधन गर्नु भएको र आगामी वर्षमा आवश्यकता र औचित्यका आधारमा बजेट छुट्याउने बताउनु भयो ।

प्रदेशसभा बैठकमा विनियोजन विधेयकमा राखिएका मुख्यमन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धीत शीर्षकमाथिको छलफल सकिएको छ । प्रदेशसभाको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *