Saturday, January 18, 2025
Home > मुख्य समाचार > १ नम्बर प्रदेशको राजधानीको विषय टुंग्याउने पहल सुरु

१ नम्बर प्रदेशको राजधानीको विषय टुंग्याउने पहल सुरु

विराटनगर । लामो रस्साकस्सी र बहस भइरहेको बेला प्रदेशसभाले अबको दुई हप्ताभित्र १ नम्बर प्रदेशको राजधानी तय गर्ने गरी छलफल सुरु गरेको छ । प्रदेशसभा गठन भएको झण्डै ढेढ वर्षपछि प्रदेशको राजधानीको विषय टुंग्याउने पहल सुरु भएको बताइए पनि नामाकरणको विषय भने अझै पर धकेलिनसक्ने देखिएको छ ।

दुईतिहाई प्राप्त दल नेकपा नेतृत्वको सरकारले प्रदेशको नामाकरण र राजधानीको विषय तोक्न ढिलाई भइरहेको आलोचना बढिरहेको छ । यही आलोचनाका बीच प्रदेशसभा र सरकारले अबको दुई हप्ताभित्रमा राजधानी तोक्नेगरी छलफल र परामर्श सुरु गरेको छ । प्रदेशसभाको दुई तिहाई बहुमतबाट टुंगो लगाइने उक्त विषय सर्वसम्मत हुनेगरी छलफल भइरहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । दलहरुबीचमा यस विषयमा घनिभूत छलफल भइरहेको बताउँदै सभामुख भण्डारीले यही अधिवेशनबाट राजधानीको विषय टुंगो लाग्ने दाबी पनि गर्नुभयो ।  दुई तिहाई मतका साथ संसदमा उपस्थित सत्तारुढ दल नेकपा संसदीय दलले पनि प्रदेशको राजधानीकोे विषय टुंग्याउने पहल सुरु गरेको जनाएको छ । दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी टुंग्याउने विषयमा दलमा छलफल भइसकेको र छिट्टै औपचारिक बैठक बसेर यस विषयको टुंगो लगाउने बताउनुभयो ।  अनौपचारिक कुराकानीका क्रममा कतिपय सांसदहरुले भने प्रदेशको नामाकरणको विषय भने यो अधिवेशनबाट टुंगोमा नपुग्ने बताएका छन् । राजधानीको विषयमा विराटनगरलाई केन्द्र बनाएर इटहरी, धरान र धनकुटामा केही सम्पर्क कार्यालय राख्ने विषयमा नेकपाका सांसदहरुबीच एकमत भएको दाबी गरिएको छ ।

बुधबारको संसदीय दलको बैठक बस्नुअघि मुख्यमन्त्री राईले धनकुटाका सांसदहरुसँग छुट्टै छलफल पनि गर्नुभएको थियो । बैठकमा बाहिर सार्वजनिक गरिएको विषयसँगै राजधानी र नामको विषयमा पनि कुरा उठेको बताइएको छ । नेकपाले यही वैशाख १५ गते संसदीय दलको बैठक राखेर राजधानीको टुंगो लगाउने र १७ गतेसम्ममा संसदमा दर्ता गराउने तयारी गरेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *