Saturday, January 18, 2025
Home > खेलकुद समाचार > हङकङलाई चार विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

हङकङलाई चार विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

वैशाख १४ । एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले हङकङलाई चार विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा २१ ओभर चार बलमा पूरा गरेको हो । यसअघि नेपालले कसिलो बलिङ गर्दै हङकङलाई ८६ रनमै समेटेको थियो । थाइल्याण्डको चियाङमाइमा जारी खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले हङकङलाई ३२.२ ओभरमा ‘अल आउट’ गरेको थियो । नेपालका लागि निखिलकुमार सिंहले कसिलो बलिङ गर्दै ६ ओभर दुई बलमा १६ रन दिएर चार विकेट लिए । त्यस्तै विशालकुमार पटेल र रमेश कुर्मीले दुई–दुई विकेट लिए भने तिलकराज भण्डारीले एक विकेट लिए । हङकङका लागि आरुष भागवतले ४३ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बरु नेपाली बलरले १६ वाइड र चार रन ‘बाइ’ गरी हङकङलाई २० रन अतिरिक्त दिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको नेपालले राम्रो सुरुवात गर्न सकेन । ब्याटिङमा लामो साझेदारी नहुँदा विकेट गुमाइरहे पनि सानो लक्ष्य भएकाले नेपालले सहजै जित हासिल गरेको हो । नेपालका लागि आशिष भट्टराईले सर्वाधिक १७ रन बनाए । त्यस्तै, दीपक बोहराले ११, सुवास ऐरले १०, रोहन विकले १४ र कृष कार्कीले १२ रन बनाए । साविक विजेता नेपाल यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *