Saturday, January 18, 2025
Home > आर्थिक समाचार > सीता एयर र माउन्टेन हेलिकप्टरले प्रदेश १ मा रहेका प्रसिद्ध तीर्थस्थलमा चार्टर्ड उडान गर्ने

सीता एयर र माउन्टेन हेलिकप्टरले प्रदेश १ मा रहेका प्रसिद्ध तीर्थस्थलमा चार्टर्ड उडान गर्ने

सीता एयर र माउन्टेन हेलिकप्टरले प्रदेश १ मा रहेका प्रसिद्ध तीर्थस्थलमा चार्टर्ड उडान गर्ने भएको छ ।

विराटनगर र भद्रपुरमा रहेको विमानस्थलबाट पूर्वी पहाडका प्रसिद्ध तीर्थस्थल पाथीभरा र हलेसी महादेवको दर्शनमा चार्टर्ड प्याकेज ल्याएका हुन् । खोटाङ जिल्लामा रहेको हलेसी र ताप्लेजुङको पाथीभराका लागि यही मंसिर २९ गतेदेखि चार्टर्ड प्याकेज सुरू हुने सीता एअरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । हलेसी महादेवका लागि सीता एअरको डोर्नियर जहाजमा भद्रपुर र विराटनगरबाट लामिडाँडा लगिने छ । त्यसपछि माउन्टेन हेलिकप्टरबाट लामिडाँडादेखि हलेसी लगिनेछ । त्यस्तै पाथीभरा देवीको दर्शनका लागि विराटनगर र भद्रपुर विमानस्थलबाट ताप्लेजुङको सुकेटार विमानस्थल लगिनेछ र सुकेटारदेखि पाथीभरासम्म माउन्टेनको हेलिकप्टरमा पुर्याइने छ । सीता एअरको डोर्नियर जहाजले पहिले १७ यात्रुलाई लामिडाँडा वा सुकेटार लैजानेछ । यसपछि माउन्टेनको हेलिकप्टरमा ५–५ जनाका दरले तीनपटक गरेर हलेसी वा पाथीभरा पुर्याइने छ । दुवै ठाउँको चार्टर्ड उडानका लागि टिकट दर प्रतिव्यक्ति २३ हजार रूपैयाँ निर्धारण गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले सेड्युल फ्लाइट नभई कसैलाई पनि चार्टर्ड फ्लाइटको अनुमति नदिने भएकाले विराटनगर, भद्रपुरबाट लामिडाँडा र सुकेटार हप्तामा एकदिन उडान गर्ने तयारी गरिएको सिंहले जानकारी दिनुभयो ।

टिकटहरू विराटनगर, इटहरी, धरान र झापालगायतको स्थानको ट्राभल्समा पाइनेछ । सम्भाव्यता अध्ययनका लागि तीन महिनाका लागि चार्टर्ड उडान सुरू गरिएको प्रबन्ध निर्देशक सिंहले बताउनुभयो । चार्टर्ड फ्लाइटका लागि सीता एअरको एक जहाज र माउन्टेनको हेलिकप्टर विराटनगर विमानस्थलमा नै रहने छन् । दुवै उडानमा भूटानसहित भारतको विहार, पश्चिम बंगाल, सिक्किम र मेघालयसम्मका दर्शनार्थी आउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *