कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (सीएसआइटी) विषय अध्ययनरत विद्यार्थीहरुको देशव्यापी आन्दोलन अन्तरगत इटहरीका विद्यार्थीहरुले पनि प्रदर्शन गरेका छन् ।
इटहरीको सुष्मा मेमोरियल कलेजमा सीएसआइटी विषयमा अध्ययनरत विद्यार्थीहरुले कलेज परिसरमा प्रदर्शन गरेका हुन् । विभिन्न प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले केहीबेर नाराबाजी समेत गरेका छन् । उनीहरुले लोकसेवा आयोगको खुल्ला परीक्षामा समावेश हुन पाउनुपर्ने, छात्रवृत्तिको दुरुपयोग रोक्नुपर्ने, परीक्षा शुल्क न्यूनिकरण गर्नुपर्ने, शैक्षिक क्यालेण्डरको व्यवस्था गर्नुपर्ने लगायतका नारा लगाएका थिए । गत मंसिर–२ गतेदेखि विभिन्न ११ बुंदे माग राख्दै देशभरका सीएसआइटी विषय पढाइ हुने कलेजमा अध्ययनरत विद्यार्थीहरुले विरोध स्वरुप विभिन्न कार्यक्रम गर्दै आएका छन । विद्यार्थीहरुले माग पूरा नगरे त्रिभुवन विश्वविद्यालय घेराउ गर्ने समेत बताएका छन् ।