Saturday, January 18, 2025
Home > मुख्य समाचार > सिद्धबाबा भनिने कृष्णबहादुर गिरीबारे अनुसन्धान गर्न दोस्रो पटक ७ दिनको म्याद थप

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीबारे अनुसन्धान गर्न दोस्रो पटक ७ दिनको म्याद थप

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले दोस्रो पटक ७ दिनको म्याद थप गराएको छ ।

गत सोमबार ४ दिनको म्याद थप गरेको सुनसरी प्रहरीले जिल्ला अदालतबाट आज सात दिनको म्याद थप गराएको हो । अदालतमा म्याद थप पछि उनलाई विराट नर्सिङहोममा नै भर्ना गरिएको छ । पुनः म्याद थप भएपछि अस्पतालमै बयान लिने प्रहरीले बताएको छ । यसअघि म्याद थप गर्न उनलाई आजै प्रहरीले उनी उपचाररत विराटनगरको विराट नर्सिङ होमबाट लिएर गएको थियो । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको को १ च ४०७३ नम्बरको एम्बुलेन्समा राखेर उनलाई बिहान ११ बजे सुनसरीतर्फ लगिएको हो । कृष्णदासजीलाई लिनका लागि सुनसरी प्रहरीका प्रवक्ता डीएसपी विनोद शर्मा नेतृत्वको टोली विराटनगर आएको थियो । मंसिर १६ गते सोमबार उनी विरुद्ध अनुसन्धान गर्न अदालतबाट पहिलो पटक चार दिनको म्याद थप गरिएको थियो । पहिलो म्यादको समयसीमा सकिएपछि थप अनुसन्धानका लागि दोस्रो पटक म्याद थप गर्न लैजानु परेको डीएसपी शर्माले बताउनुभयो ।

सुनसरीको चतरा धामस्थित आफ्नो आश्रममा लगेर कात्तिकको पहिलो साता बलात्कार गरेको भन्दै एक महिला अनुयायीले उनी विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि मंसिर १२ गते बिहीबारबाट कृष्णदासजी अस्पताल भर्ना भएका थिए । उपचाररत अवस्थामै अनुसन्धान गर्न भन्दै उनलाई पक्राउ गरेर प्रहरीले गत सोमबार म्याद थपका लागि सुनसरी अदालतमा उपस्थित गराएको थियो । अदालतले कृष्णदासजी विरुद्ध चार दिनको म्याद थप गर्दै उपचारका लागि अस्पतालमै भर्ना गर्न आदेश दिएको थियो । साथै अदालतले अनुसन्धान अधिकृत र सरकारी वकिललाई अस्पतालमै गएर उनीसँग बयान लिन पनि आदेश दिएको थियो । डीएसपी शर्माले बयान लिन अस्पतालको आईसीयूमै पुगे पनि बिरामी रहेको भन्दै कृष्णदासजीले बोल्न अस्वीकार गरेको जानकारी दिनुभयो । चिकित्सकले पनि ‘माइनर हटअट्याक’ भनेर कृष्णदासजीसँग दोहोरो गफगाफ नगर्दा राम्रो हुने सुझाव दिएको शर्माको भनाइ छ । डीएसपी शर्माले दोस्रो पटक म्याद थप गरेपछि अनुसन्धानका लागि अदालतले दिएको आदेशअनुसार अघि बढ्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *