Saturday, January 18, 2025
Home > मुख्य समाचार > सामाजवादीले लियो सरकारबाट समर्थन फिर्ता

सामाजवादीले लियो सरकारबाट समर्थन फिर्ता

सरकारबाट बाहिरिएसँगै समाजवादी पार्टी नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज बसेको दलको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । समाजवादी पार्टी नेपालका महासचिव एवं संगठन विभाग प्रमुख गंगा श्रेष्ठले कार्यकारीणी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिनुभयो । समाजवादीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ओली सरकार बहुमतको सरकार मात्र बनेको छ । केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइको सरकार बनाएको उपप्रधान एवं कानूनमन्त्री उपेन्द्र यादवको दल समाजवादी पार्टीले मंगलबार आकस्मिक रुपमा सरकारबाट बाहिरिने निर्णय गरेको थियो । समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छोड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री यादव र सहरी विकासमन्त्री इस्तियाक राईले राजीनामा दिनुभएको थियो । समाजवादीले समर्थन फिर्ता लिँदा पनि ओली सरकारसँग बहुमत भने कायमै रहनेछ र उसमाथि कुनै गणितीय संकट भने आउने छैन । अहिले प्रतिनिधिसभाको कुल सदस्य संख्या २७५ छ । यसमध्ये दुई तिहाई बहुमतका लागि १८३ मत चाहिन्छ । समाजवादी पार्टीले समर्थन फिर्ता नलिँदासम्म ओली सरकारको पक्षमा १९४ सांसद छन् । समाजवादीका १७ जनाले समर्थन फिर्ता लिए भने सरकारको पक्षमा १७७ सांसद रहने छन्, जुन दुई तिहाईभन्दा थोरै मात्र कम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *