Saturday, January 18, 2025
Home > खेलकुद समाचार > साग क्रिकेटमा नेपालको शानदार जित, भुटान १ सय ४१ रनले पराजित

साग क्रिकेटमा नेपालको शानदार जित, भुटान १ सय ४१ रनले पराजित

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले शानदार जित हात पारेको छ ।

आज भएको खेलमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै फराकिलो जित हो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनायो । भुटानका मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए । नेपालका पारस खड्काले २ तथा करन केसी, ललित राजबंशी र पवन सर्राफले समान १,१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो । नेपालको विशाल योगफलमा कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले । ५५ बलको सामना गरेका मल्लले ९ छक्का र ५ चौकाको मद्दतले १ सय ७ रन बनाए । शतकसंगै मल्ल नेपालको लागि अन्तराष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने नेपालका दोस्रो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए । यस्तै भुटानविरुद्ध पारसले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उप कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४५ रन बनाए । अब नेपालले डिसेम्बर ६ मा माल्दिभ्सको सामना गर्नेछ । अन्तिम खेलमा डिसेम्बर ७ मा बंगलादेशसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *