काठमाडौं । संशोधन सहितको नागरिकता विधेयक सम्बन्धी सरकारले तयार पारेको अन्तिम प्रतिवेदन अध्ययनका लागि समय उपलब्ध गराउनुपर्ने भन्ने विषयमा सांसदहरुबीच मत बाँझिदा आज संसदीय समितिको बैठक केही समय प्रभावित बनेको छ ।
प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अधिकांश सदस्यले समितिको छलफल र सुझावका आधारमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले तयार पारेको संसोधन विधेयक प्रतिवेदन अध्ययनका लागि समय पाउनुपर्ने धारणा राखेका थिए । तर सभापति शशि श्रेष्ठले वैबाहिक अंगिकृत नागरिकताको विषयमा संशोधन भएर आएको दफामा मात्रै छलफल गरि निर्णयमा पुग्न दबाब दिएपछि बैठकमा केहीबेर सांसद र सभापतिबीच भनाभनको स्थिति देखा परेको थियो । अधिकांश सांसदहरुले नागरिकता जस्तो संवेदनशील विषय भएकाले हतारमा निर्णयमा पुग्न नहुने भन्दै एक दिन अध्ययनका लागि समय दिन माग गरेका थिए । बैवाहिक अंगिकृत नागरिकताको सवालमा समितिमा लामोसमय देखि छलफल हुदै आएको छ ।