Saturday, January 18, 2025
Home > मुख्य समाचार > सर्लाहीमा प्रहरीको गोली लागेर आज एक युवकको मृत्यु

सर्लाहीमा प्रहरीको गोली लागेर आज एक युवकको मृत्यु

सर्लाही । सर्लाहीमा प्रहरीको गोली लागेर आज एक युवकको मृत्यु भएको छ ।

केही साताअघि प्रहरीकै गोली लागेर सर्लाहीमा विप्लव नेतृत्वको जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । सर्लाहीको बाँके जंगलमा आज प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको हो । प्रहरीले चलाएको गोली लागेर ईश्वरपुर नगरपालिका–१३, गौरीशंकरका २७ वर्षीय देवन महतोको घटनास्थलमै मृत्यु भएको हो । सर्लाही र महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित भएका थिए । बालकको मृत्युपछि स्थानीयवासीले आज दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके चोकमा शवसहित प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले राजमार्ग खुलाउने क्रममा दोहोरो झडप भएको हो । टाउकोमा गोली लागेका महतोको घटनास्थलमै मृत्यु भएको प्रदर्शनकारीले बताएका छन् । घटनामा अर्का एकजना प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा १३ जना प्रहरी घाइते भएको जनाइएको छ । सशस्त्र प्रहरीतर्फ पनि केही सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले १४ सेल अश्रु ग्यास र दुई दर्जन हवाई फायर गरेको थियो । सशस्त्र प्रहरीले पनि हवाई फायर गरेको थियो । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले सडक खुलाउन खोज्दा प्रदर्शनकारीबाट प्रहरीमाथि आक्रमण भएको दाबी गर्नुभयो । घटनास्थलको अवस्था अहिले सामान्य छ । प्रहरीको गोली लागेर मृत्यु भएका देवन महतो र डुबेर मृत्यु भएका अमित राय दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *