Saturday, January 18, 2025
Home > मुख्य समाचार > सरकारले मेरो टिभीको लाइसेन्स रद्ध गर्ने प्रक्रिया अघि बढायो

सरकारले मेरो टिभीको लाइसेन्स रद्ध गर्ने प्रक्रिया अघि बढायो

सरकारले अनधिकृत रुपमा विदेशी च्यालन प्रसारण गर्ने डिभाइन स्ट्रम नेटवर्क प्रालि (मेरो टिभी) को लाइसेन्स रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।

पटक पटकको लिखित तथा मौखिक निर्देशन र एक साताअघिको अन्तिम चेतावनी पनि अटेर गरेपछि कानुन बमोजिम इजाजतपत्र रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो । सूचना तथा प्रसारण विभागले गत हप्ता पत्र लेखी नियमसंगत ढंगले नआए लाइसेन्स रद्द गर्ने चेतावनी दिएको थियो । क्लिन फिड लागू गर्ने सन्दर्भमा विदेशी च्यानलहरु अवैध डीटीएचको प्रयोगबाट ग्राहक तथा सरकारलाई समेत ठगी भइरहेको गुनासो आएपछि विभागले मेरो टेभीलाई एक साताको अल्टिमेटम दिएको थियो । सो नेटवर्कले गत वर्ष फागुन महिनादेखि नै सोनी पिक्चर्च नेटवर्क इण्डिया, इण्डियाकास्ट मिडिया डिष्ट्रिब्युसन र डिस्कभरी नेटवर्क एशिया प्यासिफिक अन्तर्गत विभिन्न सशुल्क च्यानलहरु अवैध डिटिएचमार्फत प्रसारण गरेको अनुगमनहरुमा पाइएको विभागले जनाएको छ । यता सञ्चार तथा सूचना प्रबिधिमन्त्री गोकुल बास्कोटाले अवैध ढंगले डिटिएचबाट च्यानल प्रसारण गरी राज्यलाई करोडौं राजश्व घाटा पार्ने काम गरेकाले कानुन बमोजिम कारवाही अघि बढाउन निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

ती सम्पूर्ण च्यानल डिजिटल केबल नेटवर्कबाट मात्र प्रसारण गर्नुपर्नेमा अवैध ढंगले प्रसारण गर्दा राज्यलाई एक वर्षमा करोडौं राजश्व घाटा भएको र डिएसनलाई सो मेरो टिभीले तिर्नु पर्ने वक्यौतासमेत नतिरेको भन्दै विभागमा उजुरी परेको थियो । सो उजुरीमाथि छानविन र अनुगमन गर्दा अवैध रुपमा प्रसारण गरिएको पाइएकोले पटकपटक बन्द गर्न चेतावनी दिदा अटेरी गरेको विभागले जनाएको छ । करीव ५ करोड बक्यौता रकम नतिरेपछि डिएसएनले सिग्नल बन्द गरिदिएको छ । राष्ट्रिय प्रसारण नियमावली अनुसार शर्त बमोजिम काम गर्ने मौका दिँदा पनि अटेर गरेमा मन्त्रालयले त्यस्तो प्रसारण संस्थाको इजाजतपत्र रद्द गर्न सक्ने प्रावधान छ । सोही नियमअनुसार मेरो टिभीले डिएसएनसँगको सम्झौता बमोजिम काम नगरेमा लाइसेन्स रद्द गर्ने प्रक्रिया अघि बढाइएको बिभागले जनाएको छ । ती च्यानलको आधिकारिक कारोबार गर्ने संस्था अर्कै भए पनि मोबाइल एप्सको समेत प्रयोग गरी नेपालमा अवैध प्रसारण गरेको पाइएको छ । यता कारवाहीका लागि पत्र काटिएको डिभाइन स्ट्रीम नेटवर्कका अध्यक्ष होम पाण्डेले भने आफूहरुले कुनै पनि अवैध काम नगरेको दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *