Saturday, January 18, 2025
Home > मुख्य समाचार > सरकारले प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने

सरकारले प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने

काठमाडौं, २८ माघ । सरकारले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते भव्यताका साथ मनाउने भएको छ ।

प्रजातन्त्र दिवस मूल समारोह समितिको आज सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको हो । त्यसैगरी समारोहलाई सफल बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित मूल समारोह समितिमा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखहरु सदस्य रहनु भएको पनि गृह सचिव प्रेमकुमार राईले जानकारी दिनु भयो । फागुन ७ गते सैनिक मंच टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुनेछ । उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिको रुपमा रहनु हुने सो कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ । यसै अवसर पारेर फागुन ६, ७ र ८ गते साँझ दिपावली गरी मनाउने र विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा प्रजातन्त्र दिवस सम्बन्धि विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरिएको गृह सचिव राईले बताउनु भयो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षको प्रजातन्त्र दिवसलाई गर्वका साथ मनाउन लागिएको जानकारी दिनु भयो ।

प्रधानमन्त्री ओलीले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढाउन सबैको सचेत अभियानको जरुरी रहेको पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *