Saturday, January 18, 2025
Home > मुख्य समाचार > सरकारबाटै लोकतन्त्रलाई कमजोर बनाउने खेल भइरहेको नेता कोइरालाको आरोप

सरकारबाटै लोकतन्त्रलाई कमजोर बनाउने खेल भइरहेको नेता कोइरालाको आरोप

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारबाटै लोकतन्त्रलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार’ समर्पण समारोहलाई सम्बोधन गर्दै कोइरालाले अरुबाट भन्दा सरकारबाटै लोकतन्त्र खतरामा परेको उल्लेख गर्नुभयो । जनअपेक्षाअनुसारका काम गरेर लोकतन्त्रलाई बलियो बनाउतेतर्फ ध्यान नदिई प्रधानमन्त्री केपी शर्मा ओलीले नन् इस्यूमा सर्वदलीय बैठक बोलाएको उहाँको टिप्पणी थियो । सरकारले जनअपेक्षाअनुसार काम गरेमा लोकतन्त्रलाई कसैले छुन नसक्ने कोइरालाको दाबी थियो । उहाँले संविधानको अक्षरशः कार्यान्वयन गर्दै लोकतन्त्रलाई बलियो बनाउनेतर्फ लाग्न सरकारलाई सुझाव दिनुभयो । राजावादी र विप्लवबाट खतरा भयो भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिनुले मुलुक अर्कै बाटोमा त हिंडिरहेको छैन भन्ने आशंका उब्जिएको उहाँको कथन थियो । कोइरालाले मिडिया काउन्सिल विधेयक र राष्ट्रिय मानवअधिकारलगायतका विवादस्पद विधेयकले सरकार लोकतन्त्रप्रति उदार छैन भन्ने प्रस्ट भएको उल्लेख गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य डा. डिला संग्रौलाले लोकतन्त्रमाथि चारैतिरबाट प्रहार हुन थालेकाले कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा अत्यधिक भ्रष्टाचार बढ्दा पनि सरकार चुप लागेर बसेको संग्रौलाको आरोप थियो ।

प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइँटेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बू, पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुइँटेल, प्रेस युनियनका प्रदेश संयोजक लीलावल्लभ घिमिरे, प्रेस युनियन मोरङका सल्लाहकार मीनकुमार नवोदितलगायतले सरकारले नै प्रेसलाई संकुचित बनाउन खोज्नु दुःखद भएको टिप्पणी गर्नुभयो । कार्यक्रममा साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय शंकर खरेललाई १५ हजार राशिको रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । युनियनले स्वतन्त्रता सेनानी रमाप्रसाद रिजालको नाममा पुरस्कारको स्थापना गरेको हो । पुरस्कारको संरक्षकमा रमाप्रसादका छोरा सुभाष रिजाल हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *