Saturday, January 18, 2025
Home > मुख्य समाचार > सभामुख नहुँदा पारित विधेयकहरुको प्रमाणिकरण रोकियो

सभामुख नहुँदा पारित विधेयकहरुको प्रमाणिकरण रोकियो

काठमाडौं । प्रतिनिधिसभाका सभामुख नहुँदा संघीय संसदबाट पारित भएका विधेयकहरु प्रमाणित गर्ने काम नै रोकिएका छन ।

संसद सचिवालयका कर्मचारीमाथि बलात्कार गरेको आरोपमा सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित पाँच वटा विधेयक प्रमाणिकरण गर्न राष्ट्रपति समक्ष पठाउने काम नै रोकिएको हो । सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने भएकाले संसदबाट पारित गरिएको ती विधेयकहरु प्रमाणीकरणको काम पनि रोकिएको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो । संवैधानिक व्यवस्था अनुसार सभामुखले दुवै सदनबाट पारित भएको विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नुपर्ने हुन्छ । तर सभामुख नहुँदा ती सबै कामहरु रोकिएको अवस्थामा रहेको पनि संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयले सभामुख पद रिक्त हुँदा प्रतिनिधिसभाका सांसदहरुको देशभित्र र बाहिर हुने औपचारिक कार्यक्रमहरु पनि रोकिएको स्पष्ट पारेको छ । प्रवक्ता पाण्डेले सभामुख नहुँदा प्रतिनिधिसभाका सांसदहरुले देश भित्र र बाहिर हुने औपचारिक कार्यक्रमहरु पनि रोकिएको बताउनुभयो । त्यसैगरी सभामुख नहुँदा संसदीय समितिका बैठकहरु पनि अघि बढ्न सकेका छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *