Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > संसदमा सांसदहरुको कुरा

संसदमा सांसदहरुको कुरा

काठमाडौं, १९ पुष । सांसदहरुले मुलुकको शान्ति सुरक्षा,सुशासन र भ्रष्टाचार, सडक विस्तार लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसद डिला संग्रौलाले मुलुकभर हत्या, हिंसा, भ्रष्टाचार, कालोबजारी र सिमा मिच्ने काम भईरहेको भन्दै मुलुकको समस्याको निकास खोज्ने सवालमा सदनलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । राष्ट्र खुम्चिदा पनि समस्याको समाधान नखोजिएको भन्दै उहाँले सदनलाई निकासको थलो बनाउन आग्रह गर्नुभयो । रक्षामन्त्रीले हत्यारा पत्ता लागिसक्यो भनेर अभिव्यक्ति दिएको तथा प्रधानमन्त्रीले छानविनमा कमजोरी भएको भन्नुले बालुवाटार र सिंहदरबारको कुर्चीबाटनै अपराधी संरक्षित छन् भन्ने बुझिएको टिप्पणी गर्नुभयो । उहाँले वाईडवडी विमान खरिद प्रकरणमा वहालवाला मन्त्रीमण्डलमाथि संसदीय उपसमितिले औलो ठड्याईसकेकाले सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न पनि असफल भएको आरोप लगाउनुभयो ।

सांसद अनिलकुमार झाले उखु विक्रिको व्यवस्था मिलाई उखु किसानको रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । यस्तै सांसद सत्य पहाडीले जाजरकोट डोल्पा सडक खण्डको स्तरोन्नती र त्यस क्षेत्रका सबै पुल निर्माणमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद देवप्रसाद तिमल्सिनाले तराईमा बर्षेनी शितलहरका कारण मानिसहरुको मृत्यु हुने गरेको भन्दै तराईमा गरिबका घर निर्माणपछि मात्रै मन्त्रीहरुलाई आवास बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । यसैबीच आजको बैठकमा जीवनाशक विषाधी व्यवस्थापन विधेयक२०७५ प्रस्तुत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *