नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले संविधान संशोधन गरेर समस्या समाधान नहुने बताउनुभएको छ ।
उहाँले संघीयताका लागि संविधान संशोधन गरेर नभई संविधानको आमुल परिवर्तन गरेर मात्र समस्या समाधान हुने दाबी गर्नुभयो । आज धनुषामा आयोजित पत्रकार सम्मेलनमा वैद्यले आफूहरु पहिचानसहितको संघीयताको पक्षमा आन्दोलन गरेको र मधेशी मोर्चाले पनि यही आवाज उठाउँदै आएको बताउनुभयो । उहाँले अझै पनि जनताले अधिकार प्राप्त भैनसकेको उल्लेख गर्नुभयो ।
पहिचानसहितको संघीयताका लागि फेरि पनि संघर्षको आवश्यकता रहेको वैद्यले बताउनुभयो । उहाँले वर्गीय र जातिय मुक्तिका लागि फेरी पनि आन्दोलनको खाँचो रहेको औल्याउँदै संविधान संसोधन गरेर नभई संविधानको आमुल परिवर्तन गरेर संघिय जनगणतन्त्रको संविधान भएपछि मात्र समस्याको समाधान हुने बताउनुभयो । वैद्यले भारत सरकारले कब्जा गरेको भूभाग फिर्ता लिनका लागि राजनीतिक र कुटनितीक ढंगले पहल गरेर समस्या समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो ।