Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > संघिय संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी भएको समितिको प्रतिवेदन

संघिय संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी भएको समितिको प्रतिवेदन

काठमाडौं । संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानविन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ ।

संसदीय समितिका सभापतिहरुले चढने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न गठित छानविन समितिले आज प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको प्रतिवेदनमा संघीय संसदले खरिद गरेको ११ वटा गाडीमा सामान्य प्राविधिक कमजोरी पाइएको उल्लेख गरिएको हो । सामान्य प्राविधिक त्रुटि भेटिएका गाडी एक हप्ता भित्र मर्मत गरी संसद सचिवालयमा बुझाउन र कामै नलाग्ने अवस्थामा रहेका ३ वटा गाडी आपूर्तिकर्तालाई नै तत्काल फिर्ता गराउन पनि संसद सचिवालयलाई निर्देशन दिइएको सो समितिका संयोजक रामनारायण बिडारीले जानकारी दिनु भयो । छानविन समितिले कामै नलाग्ने गाडी फिर्ता नलिए सम्बन्धित आपूर्तिकर्तालाई कानुन बमोजिम कार्वाही गर्न पनि सिफारिस गरेको छ ।

छानविन समितिले प्राविधिकहरु, सार्वजनिक खरिद ऐन र गाडी कम्पनीसँग सोधपुछ गरी तयार पारेको प्रतिवेदनमा सबै गाडीको पार्टस्हरु मिलाएर नराखिएको पाइएको पनि जनाएको छ । संयोजक बिडारीले ३ वटा गाडीमा भने मुख्य समस्या देखिएकाले त्यसलाई फिर्ता गराउन भनिएको पनि स्पष्ट पार्नु भयो । छानविन समितिको सो प्रतिवेदन ग्रहण गर्दै सभामुख महराले त्यसको अध्ययन गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *