संखुवासभा । संखुवासभाको अरुण नदीमा एकै परिवारका ३ जनासहित दुर्घटनामा परेको जिपमा सवार ६ जना अझै फेला पर्न सकेका छैनन् ।
बेपत्ता ६ जनाकै खोजी जारी रहे पनि मौसमको खराबीका कारण खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ । संखुवासभाको खाँदवारीबाट बिरामी बोकेर धरान आउँदै गरेको को १ ज ३७४९ नम्बरको बुलेरो गाडी अक्करको भीरबाट गएराति १० बजे ५० मिटर तल अरुण नदीमा खसेको र अरुण नदिमा डुबेको छ । बेपत्ता जिपसहित ६ जनाको खोजि जारी रहेको प्रहरीले जनाएको छ । पानी परिरहेको र अरुण नदिको बहाब ठुलो भएकाले बेपत्ताको खोजिमा कठिनाई भएको संखुवासभाका प्रहरी प्रमुख डीएसपी मिमबहादुर लामाले बताउनुभयो । उहाँले जिप दुर्घटना भएको स्थलमा पानीको बहाब ठुलो र गहिरो रहेकाले स्थानिय र प्रहरीद्धारा उक्त स्थानमा जान साधनको समस्या भएकाले चितवनबाट गोताखोर ल्याई खोजि गरिने बताउनुभयो । जिप दुर्घटनामा खाँदवारी ९ ढुङगेविसौनाका २४ वर्षिय संगम श्रेष्ठ, उनकी श्रीमती २२ बर्षिय सदीक्षा श्रेष्ठ, छोरा २ महिनाका समिर श्रेष्ठ र खाँदवारी ९ ग्रैह्रिगाउका प्रमिस थापामगर र उनका भिनाजु खोटाङ घर भएका खवरमान मगर र जीपका चालक सन्तोस बि.क बेपत्ता भएको प्रहरीले जनाएको छ ।