विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शान्तिपूर्ण राजनीतिमा आउनुुबाहेक विप्लव समूहसँग कुनै अर्को विकल्प नभएको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हिंसाको राजनीतिबाट उद्देश्य पूरा नहुने भएकाले अन्ततः विप्लव समूह वार्तामा आउनै पर्छ बताउनुभयो । उहाँले बमको आतंक फैलाएर जुन तरिका अपनाइएको छ त्यसले कुनै पनि हालतमा उद्देश्य पूरा नहुने भन्दै प्रकारान्तमा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनै पर्ने विचार ब्यक्त गर्नुभयो । अध्यक्ष दाहालले राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना र राष्ट्रको आवश्यकता यतिखेर बम पड्काउने नभइ विकास निर्माण र समृद्धिका साथ समाजवादलाई नयाँ ढंगबाट अघि बढाउनु रहेकाले त्यसतर्फ सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । विप्लव समूहमा वार्तामा आउने भए उनीहरुमाथि लगाइएको प्रतिबन्ध ठूलो समस्या नभएको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले मिडिया काउन्सिल विधेयक आवश्यकताअनुसार परिमार्जनसहित अघि बढ्ने बताउनुभयो । उहाँले मिडिया काउन्सिल विधेयकका विषयमा राष्ट्रियस्तरमा छलफल चलिरहेको बताउनुहुँदै सो विषयमा संसदभित्र पनि यस विषयमा छलफल चल्ने बताउनुभयो । परिमार्जनसहित विधेयक अगाडि बढ्ने उहाँले प्रष्ट पार्नुभयो ।