Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > शशिकिरणद्वारा लिखित ‘बधाई छ !’ विमोचन

शशिकिरणद्वारा लिखित ‘बधाई छ !’ विमोचन

विराटनगर । कवि शशिकिरणद्वारा लिखित ‘बधाई छ !’ कवितासंग्रह आज विमोचन भएको छ ।

विराटनगरस्थित आहोरण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रमकाबीच प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कवितासंग्रहको विमोचन गर्नुभयो । विमोचित कवितासंग्रहको विषयमा टिप्पणी गर्नुहुँदै अग्रज साहित्यकार बलराम पोखरेलले आन्दोलनमार्फत राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा सुधार आउन नसकेको बताउनुभयो । संग्रहका अधिकांश कविताले आन्दोलनको मर्म र भावनाविपरीत नेतृत्व अगाडि बढिरहेको विषयलाई उठान गरेको पोखरेलको भनाइ थियो । कवि सीमा आभासले विमोचित कवितासंग्रहमा २०५० सालयताका राजनीतिक क्रान्ति र जनयुद्ध सकिएपछिको धङधङतीका विषयवस्तुहरु कविताको माध्यमबाट समेटिएको बताउनुभयो । उहाँले जनताले चाहेको शासन व्यवस्था अझै स्थापित नभएको भन्दै संग्रहका कवितामा विद्रोहसहित असन्तुष्टि अभिव्यक्त भएको उल्लेख गर्नुभयो । कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदितले विमोचित कवितासंग्रहभित्र शीर्ष कविता ‘बधाई छ’ वाचन गर्नुभयो । कोशी सांस्कृतिक प्रतिष्ठान नेपालले प्रकाशनमा ल्याएको १०६ पृष्ठको कविता संग्रहमा विभिन्न ५२ वटा कविताहरु समेटिएका छन् । कार्यक्रममा राष्ट्रियसभाका सांसद एवं प्राज्ञ खेम नेपाली, प्राज्ञ विवश पोखरेल, कवि भरत गुरागाईं, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति एवं प्रदेश सांसद शिवनारायण सिंहलगायतले शशिकिरणको कवितासंग्रह जनयुद्धको दस्तावेजका रुपमा आएको बताउनुभयो । तत्कालीन माओवादी पृष्ठभूमिबाट जनयुद्ध र राजनीति क्षेत्रमा लामो समयदेखि योगदान दिंदै आउनुभएका शशिकिरण नेकपा मोरङको सचिवसमेत हुनुहुन्छ । उहाँ राजनीतिमा गणेश उप्रेती ‘सुसील’को नामबाट स्थापित हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *