Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगर भन्सारमा अवैध असुली धन्दा

विराटनगर भन्सारमा अवैध असुली धन्दा

भन्सारभित्रको संसार के छ भन्ने कुरा खासै सबैलाई थाहा हुन्न । सामान आयात निर्यात गर्दा व्यापारी र कर्मचारीको मिलेमतो हुने त सधैं चल्ने कुरा नै हो । त्यो भेट्न र देख्न निकै गाह्रो हुन्छ । मिलेमतोमै हुन्छ सबै काम । तर भन्सार कर्मचारीले देखादेखी रकम असुल्ने अर्को सजिलो उपाय हो । सुविधाको नाममा हेर्नुहोस् विराटनगर भन्सारका कर्मचारीले कसरी लिन्छन घुस ।

विराटनगर भन्सार कार्यालय राजस्व असुलीको दृष्टिकोणले वीरगञ्ज र भैरहवापछि तेस्रो स्थानमा रहँदै आएको छ । यसै भन्सार नाका हुँदै जोगवनी क्षेत्रबाट दैनिक भारतीय नम्बरका सयौ सवारी साधान नेपाल भित्रिन्छन् । ति भारतीय नम्वर प्लेटका सवारी साधनबाट सुविधा लिने नाममा भन्सारका कर्मचारीले अवैध असुली गर्ने गरेको रहस्य सार्वजनिक भएको छ । नाका क्षेत्रबाट नेपालतर्फ आउने सवारी साधनले भन्सारपत्र (सुविधा) लिएर मात्र नेपाल प्रवेश गर्न पाउँछ । सुविधा दिनकै लागि भनेर बिराटनर भन्सार गेटमै सुविधा काउन्टर खडा गरेको छ । तर भारतीय सवारीलाई सुविधा दिने नाममा कर्मचारीले अवैध असुली गर्दै आएको फेला परेको छ । भारतबाट नेपाल आउने साना सवारी मोटरसाइकल र ४ चक्के सवारीलाई नजिकैको बजारसम्म पुग्न भन्सार पत्र (सुविधा) लिनुपर्ने हुन्छ । त्यसबाहेकका अन्य क्षेत्रमा जान भने दैनिक पैसा तिर्नुपर्ने हुन्छ । तर हरेक दिन नजिकैका बजारसम्म कुद्ने सवारीबाट समेत भन्सारका कर्मचारीले अवैध असुली गर्दै आएका छन् । सुविधापत्र दिने वहानामा कर्मचारीले हरेक दिन सयौँ सवारी साधनबाट अवैध असुली गर्ने गरेका छन् । बिहानको ६ बजेदेखि बेलुकासम्म सयौँ मोटरसाइकल तथा साना सवारीबाट हजारौँ रकम असुल्ने गरेका छन् । सुविधा कागजमा कुनै पनि रकम उल्लेख गरिएको हुँदैन । नजिकैका बजार सीमा क्षेत्रबाट ५ किलोमिटर वा नजिकैको बजारसम्म सुविधा निशुल्क छ भन्ने सवारीधनीलाई खासै थाहा नभएको बताए । बर्षौँदेखि मोटरसाइकलको निरन्तर कर भन्दै रकम दिदै आएको उनीहरुको भनाइ छ । कर्मचारीले कागज छाप्न र डटपेन किन्न भन्दै आफुहरुबाट पैसा लिने गरेको तर्क दिन्छन् । कोही चिया खर्च भन्दै रकम लिने गरेको बताउँछन् ।

यस बिषयमा प्रश्न राख्न साथ कर्मचारी आत्तिएका थिए । यसरी हरेक दिनजसो कर्मचारीले देख्दा सानो रकम भए पनि सयौं सवारीबाट हजारौँ रकम असुल्दा समेत सम्बन्धित निकाय मौन रहेको छ । यो अवैध संकलन भएको रकम राज्यको कुनै पनि कोषमा जम्मा नभएर सिधै कर्मचारीको गोजीमा जाने गरेको छ । यस बिषयमा बिराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीसँग बुझ्न हामी उहाँकै कार्यालयमा पुग्यौं । भण्डारीले आफू नयाँ आएको भन्दै यस्तो गतिबिधी भएको पाए कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यालयले भन्सार क्षेत्रमा निगरानीकै लागि भनेर दजनौँ सीसी क्यामेरा जडान गरेको छ । अधिकृतकै कार्यकक्षाबाट यो निगरानी गरिन्छ । तर, अवैध रुपमा यसरी सवारीको सुविधा काट्ने नाममा असुली गर्दा पनि सम्बन्धित निकाय मौन रहनलाई विडम्बना नै मान्न सकिन्छ । सेवाग्राहीबाट लिएको रकम न त राज्य कोषमा जम्मा हुन्छ न त कुनै काममा सदुपयोग । सरकारले तलव दिएर खटाएका कर्मचारीको गोजी भर्न कहिलेसम्म छुट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *