Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगरक्षेत्रमा चोरीको घटना बढ्यो, सर्वसाधारणद्धारा असुरक्षित महसुस

विराटनगरक्षेत्रमा चोरीको घटना बढ्यो, सर्वसाधारणद्धारा असुरक्षित महसुस

विराटनगरक्षेत्रमा चोरीको घटना बढेपछि सर्वसाधारणले असुरक्षा महशुस गर्न थालेका छन । यसअघि रातीराती चोरी गर्ने चोरहरुले दिउसै चोरी गर्न थालेका छन ।

पछिल्लो समय विराटनगर क्षेत्रमा चोरीका घट्नाहरु तीब्ररुपमा बढेको पाइएको छ । दिनदहाडै चोरहरुले स्थानीयको घर फोडी नगद र सुनचाँदी चोर्न थालेका छन । नगरक्षेत्रको दक्षिणी क्षेत्रमा चोरीका घट्नाहरु ह्वात्तै बढेको छ । विराटनगर १३ कोशी प्रोजेक्ट नजिकैको राजदेवी मार्गमा बसोबास गर्ने तारिणी सिंहको घरमा गएको २२ गते दिउसो १ बजे चोरी भयो । श्रीमान श्रीमति नै जागिरे सिंह दम्पति अफिस गएको र बालबच्चा समेत स्कुल गएको समयमा घरको ताला फोरेर घर भित्र प्रवेश गरेका चोरहरुले घरभित्रको दराज फोरेर साढे २ तोला सुन र नगद ५० हजार लिएर फरार भए ।

यसअघि कात्तिक १६ गते सो क्षेत्रमा दिउसै अन्य २ घरमा समेत चोरी भयो । स्थानिय बालमुकुन्द मिश्राको घरबाट चोरहरुले नगद र बहुमुल्य गरगहना लिएर फरार भए । सोहि दिन समाजबादी पार्टी नेपालका नेता राजकुमार यादवको घरमा समेत चोरी भयो । राजदेवी मार्गमै घर रहेका यादव परिवार छठ पर्व मान्न रंगेली गएको बेला घरमा कोहि नभएको मौका फेलापारी चोरहरुले दिउँसै चोरी गरे । यादवको घरको दराज फोरेर चोरहरुले ३ तोला सुन र ४० तोला चोरेर बेपत्ता भए । चोरीका घटना बढेपछि त्यसक्षेत्रका बासिन्दा असुरक्षित महशुस गर्न थालेको यादवको भनाई छ । राजदेवी मार्गको दक्षिणतर्फ रहेको पुरानो खाद्य गोदामको पर्खाललाई चोरहरुले उत्तरी बस्तीका निम्ति प्रवेश मार्गको रुपमा प्रयोग गर्ने गरेको स्थानीयले दाबी गरेका छन । गोदामकै उत्तरतर्फ घर रहेका निलेश भगतले आफु समेत चोरीको शिकार भइसकेको बताउनुहुँदै गोदाम तर्फबाट आउने चोर छेक्न आफुले सामान्यभन्दा तीन गुणा अग्लो पर्खाल बनाएपछि छेक्न नसकिएको गुनासो गर्नुभयो ।

उता जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम खिउँजुले चाडवाडमा चोरीको घटना बढेको स्वीकार गर्नुभयो । उहाँले चाडवाड मान्न जाने क्रममा घरमा ताल्चा लगाएर खाली छाडिएका घरहरुमा चोरी भएको बताउनुभयो । चोरी नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको दाबी गर्नुहुँदै उहाँले सर्वसाधारण समेत सतर्क रहनुपर्ने बताउनुभयो । गएको आर्थिक बर्षमा चोरीका १०५ वटा घटना भएकोमा चालु आर्थिक बर्षमा हालसम्म २४ वटा चोरीको घटना दर्ता भएको जिल्ला प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *