Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगरको एक विद्यालय गौचरण र हटियामा परिणत

विराटनगरको एक विद्यालय गौचरण र हटियामा परिणत

विराटनगर, २१ पुष । विद्यालय भन्ने बित्तिकै पठनपाठन हुने स्थान भनेर कसैलाई बुझाउनु पर्दैन । तर विराटनगरमा एउटा यस्तो विद्यालय छ जहाँ पठनपाठन कम र आलु प्याज बढी बिक्री हुन्छ । बालबालिका खेल्नुपर्ने विद्यालयमा साप्ताहिक हाट बजारमा बेच्न राखिएका आलु प्याज र तरकारीका बोरा लडाइएको हुन्छ ।

विपन्न र सुकुम्बासी परिवारका बालबालिका पढ्ने विराटनगरस्थित सयपत्री परोपकार प्राथमिक विद्यालयमा मुस्किलले विद्यार्थी आउँछन् । विद्यालयमा विद्यार्थीको उपस्थिति अत्यन्तै न्यून हुन्छ । जसको कारण भोक हो । आएका विद्यार्थीहरुलाई पनि विद्यालयमा पूरै समय टिकाउनै नसकिने विद्यालयको भनाइ छ । बिहान भोकै विद्यालय आएका बालबालिकालाई विद्यालयमा पूरा समय टिकाउन नसकेको शिक्षकहरुकै भनाइ छ । बाल कक्षादेखि ४ सम्म पढाइ हुने विद्यालयमा ५६ जना विद्यार्थीले नाम लेखाएका छन् । बालकक्षामा छात्र ३ र छात्रा १२ जना, कक्षा १ मा छात्र ६, छात्रा ५, कक्षा २ मा छात्र ७, छात्रा ४, कक्षा ३ मा छात्र ४, छात्रा ४ र कक्षा ४ मा छात्र २ र छात्रा ५ जना अध्ययनरत छन् । उनीहरुका लागि ५ जना शिक्षक कार्यरत छन् । तर मुस्किलले २०–२२ जना विद्यार्थी पढ्न आउँछन् । एक त विद्यार्थी नै नआउने त्यसमा पनि विद्यालय हाताभित्रै हाटबजार लाग्दा पठनपाठन ठप्प हुने गरेको विद्यालयले जनाएको छ । विद्यालय सुधारका लागि महानगरपालिकाबाट आश्वासन पाए पनि सहयोग हुन नसकेको विद्यालयको भनाइ छ ।

विद्यालय उमेरका बालबालिका नभएर विद्यालयमा विद्यार्थीको कमी भने भएको हैन । यो विद्यालय वरिपरि विद्यालय जाने उमेर भएका कम्तीमा एक सयभन्दा बढी बालबालिकाहरु रहेको विद्यालयको भनाइ छ । तर आमा बुबा दैनिक मजदुरी र अर्काको घरमा काम गर्न बिहानै जाने हुँदा बालबालिकाहरु विद्यालय नआएको शिक्षकहरु बताउँछन् । बालबालिका खेल्दै पढ्दै गर्नुपर्ने विद्यालय गाई चरणदेखि हटिया लाग्ने स्थान बनेको छ । हटियाको दिन विद्यालयको दलान चिया दोकान र आलु गोदाम बन्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *