Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटचौक–घिनाघाट सडक ४ लेन बनाउने काम सुरु

विराटचौक–घिनाघाट सडक ४ लेन बनाउने काम सुरु

मोरङ । विराटनगर भित्रने तथा बाहिरिने वैकल्पिक सडकको रुपमा रहेको विराटचौक–घिनाघाट सडक ४ लेन बनाउने काम सुरु भएको छ । १ नम्बर प्रदेश सरकारको महत्वकांक्षी मानिने यो सडकलाई ४ लेन बनाउने कार्यको शिलान्यास प्रदेशका मुख्यमन्त्री शेरधन राईले सोमबार एक कार्यक्रमकाबीच गर्नुभएको हो ।

२२ दशमलव ५ किलोमिटर लम्बाइ रहेको यो सडक विराटनगर प्रवेश गर्ने कोशी राजमार्गको विकल्पको रुपमा हेरिएको छ । कोशी राजमार्ग पनि ६ लेनको बनाउने काम जारी छ । प्रदेश सरकारको १ अर्ब ४० करोडको लगानी रहेको विराटचौक–घिनाघाट ४ लेन बनाउने सडक वहुवर्षे आयोजना अन्तर्गत राखिएको छ । सडक शिलान्यास कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री शेरधन राईले यति ठूलो लगानीमा बन्ने यो नै प्रदेशको पहिलो र नमूना सडक आयोजना भएको बताउनु भयो । उहाँले ठेक्कामा लिने निर्माण व्यवसायीले नमूनाको रुपमा बनाएर समयावधिभन्दा अगाडि नै सरकारलाई सडक हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सडक निर्माणको जिम्मा लिने निर्माण व्यवसायीको अनुगमन र मूल्यांकन तथा निगरानी आफूले पनि गर्ने बताउँदै मुख्यमन्त्री राईले गुणस्तरमा कुनै सम्झौता नहुने पनि स्पष्ट पार्नुभयो । २२ दशमलव ५ किलोमिटर सडकलाई ३ वटा प्याकेजमा विभाजन गरिएको छ । जसमध्ये २ वटा १०–१० किलोमिटरको सडक ठेक्कामा लागेको भएपनि बाँकी रहेको २ दशमलव ५ किलोमिटर सडकको भने ठेक्का लगाउने प्रक्रियामा रहेको मोरङको पूर्वाधार विकास कार्यालयका प्रमुख सुशील श्रेष्ठले जानकारी दिनुभयो । दुईवटा प्याकेजको ठेक्का भने गत असार ३१ गते सम्झौता भएको हो ।

सम्झौता अनुसार आगामी २०७७ साल असार मसान्तसम्ममा सडक निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ । सडक निर्माणको काम भने असोज १ गतेदेखि सुरु हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । वस्तीभएको क्षेत्रमा ६४ मिटर र वस्ती नभएको क्षेत्रमा ५६ मिटर हुने गरी सडकको डिजाइन गरिएको छ भने सेन्टर पोइन्टबाट ३५÷३५ फिट कालोपत्रे हुने र दुवै छेउमा १०÷१० फिट टाढा छोडेर मात्रै निजी घर निर्माण गर्न पूर्वाधार विकास कार्यालय मोरङले अनुरोध पनि गरेको छ । दुवै प्याकेजको ठेक्का श्रेष्ठ रमण एपेक्स जेभिले पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *