Saturday, January 18, 2025
Home > मुख्य समाचार > विपद् व्यवस्थापनको पूर्वतयारीमा जुट्न सम्बन्धित सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन

विपद् व्यवस्थापनको पूर्वतयारीमा जुट्न सम्बन्धित सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनको पूर्वतयारीमा जुट्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।

जल तथा मौसम विज्ञान विभागले आँधी, हुरी र वर्षाजस्ता प्राकृतिक प्रकोप आइपर्ने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको व्यवस्थापन हुनेगरी पूर्वतयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको हो । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दोस्रो बैठकमा बोल्दै उहाँले विपत्तिका बेला राहत तथा उद्धार र त्यसका लागि आवश्यक सबै उपकरणहरुको व्यवस्था गर्न पनि संघ, प्रदेश र स्थानीय सबै तहका सरकारलाई सचेत गराउनुभएको थियो । विपद् व्यवस्थापनका लागि आवश्यक सबै खालको पूर्व तयारीमा जुट्न प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिनु भएको गृह सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपद्बाट सबैभन्दा बढी प्रभावित प्रदेश २ भएकाले त्यसका लागि विशेष खालको व्यवस्था गरिदिन प्रधानमन्त्री ओलीसँग माग गर्नुभएको थियो । गर्मीमा आगलागी, हावा÷हुरी, वर्षामा डुबान र कटान, हिउँमा शीतलहरका कारण मानिसको ज्यानै जाने अवस्था भएकाले त्यसको व्यवस्थापनका लागि प्रदेश २ मा विशेष व्यवस्था गर्न आफूले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको मुख्यमन्त्री राउतले जानकारी दिनुभयो । बैठकले विगतमा गरिएका विपद् व्यवस्थापनको समिक्षा गर्दै आगामी दिनमा संघ, प्रदेश र स्थानीय सरकारबीच विपद् व्यवस्थापनका लागि सहकार्यका साथ काम गर्ने सहमति पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *