जंगली हात्ती धपाउन जडान गरिएको विद्युतीय धरापमा परी झापामा मामा भान्जाको ज्यान गएको छ ।
विद्युतीय धरापमा परी मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ४ बस्ने १८ वर्षीय अभिनास राई र भोजपुर साल्पाचुली गाउँपालिका ५ बस्ने अन्दाजी ३५ वर्षीय मणिराम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार बुद्धशान्ति ४ बस्ने परेसिकुमार राईको घरमा पाहुना आएका मणिराम र अभिनास शनिवार बिहान माछा मार्न गएका थिए । मणिराम र अभिनास नातामा मामा भान्जा पर्छन । सोही गाउँपालिका ४ स्थित नव ज्योति सामुदायिक वन समूहको कार्यालय नजिकै जङ्गली हात्ती धपाउन विद्युतीय धराप लगाएको थियो । कार्यालय नजिकैको खोलामा माछा मार्ने क्रममा बिजुली तारले पानीलाई छोएकोले मामा भान्जाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो ।