Saturday, January 18, 2025
Home > मुख्य समाचार > विगत दुई महिनादेखि उपचार अभावमा कोशी अस्पतालमा रहेका व्यक्तिले उपचार सेवा पाए

विगत दुई महिनादेखि उपचार अभावमा कोशी अस्पतालमा रहेका व्यक्तिले उपचार सेवा पाए

विराटनगर । विराटनगरको कोशी अञ्चल अस्पतालमा विगत दुई महिनादेखि उपचारको अभावमा रहेका वेवारिसे व्यक्तिले उपचार सेवा पाउने भएका छन् । अस्पतालको आकश्मिक कक्षको छेउमा खुट्टा कुहिएर रहँदा पनि अस्पतालले वेवास्ता गर्दा उनको यो अवस्था भएको हो ।

विराटनगरको कोशी अञ्चल अस्पतालको इमर्जेन्सी कक्षको छेउमा कुरुवा घरमा रहेका एक वेवारिसे ब्यक्तिले उपचार सेवा पाउने भएका छन् । अस्पताल भित्रै २ महिना रहदा पनि वेवास्ता भएपछि उनको खुट्टा काट्नु पर्ने अवस्था आएको हो । अस्पतालले कुरुवा र आफन्तको अभावमा उपचार नगरेको जनाएको छ । अस्पतालले निजलाई रगतको धमनी सुकेर रक्त संचालन बन्द भएपछि मासु मर्ने रोग अर्थात बर्जर डिजिज रोग लागेको जनाएको छ । उनका आसपासमा हिड्ने मानिसहरु मुख छोपेर हिड्दा पनि मानवता भन्ने अस्पतालले नदेखाएको पाइएको हो । यद्यपी अस्पतालका मेसु डाक्टर रोशन पोखरेलले उनको कुरुवा र आफन्तको अभावले अप्रेशन गर्न नसकिएको लज्जास्पद जबाफ दिनुभएको छ । यता हाडजोर्नी रोगका विशेषज्ञ डाक्टर यज्ञराज खरेलले भने अस्पतालमा आउने सबैको उपचार गर्न आफूहरु तयार रहेको तर कुरुवा नभएकाले समस्या भएको बताउनु भयो ।

यस्ता वेवारिसे व्यक्तिको जिम्मेवारी प्रहरीले लिने भएपनि नयाँ मुलुकी संहिताले अधिकार कटौती गरेर स्थानीय निकायमा पठाएकाले पनि प्रहरीले केहि गर्न नसक्ने अवस्था रहेको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले अब वेवारिसे व्यक्तिका लागि दिगो पहलका लागि समिति गठन गरेर अगाडि बढ्ने बताउनु भयो ।

यस्ता वेवारिसे, असक्त र आफन्त कोही नहुनेहरुका लागि स्थानीय सरकार, प्रदेश सरकार र सम्बन्धीत निकाय मिलेर ठोस पहल गर्नु जरुरी छ । आइन्दा अस्पतालमा आउने बेवारिसे विरामीले उपचार नपाएर मृत्युको मुखमा पुग्नुपर्ने अवस्थाको अन्त्य हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *