Saturday, January 18, 2025
Home > मुख्य समाचार > विकास निर्माणका काममा लापरबाही

विकास निर्माणका काममा लापरबाही

झापा । फिल्डमा इन्जिनियरसहित टोली नखटिँदा झापा सदरमुकाम भद्रपुरमा निर्माणाधिन अवस्थामा रहेका विभिन्न योजनाका कामहरु गुणस्तरहीन भइरहेको पाइएको छ ।

भद्रपुर नगर क्षेत्रमा अहिले दर्जनौ योजनाका कामहरु निर्माणाधिन अवस्थमा रहेका छन् । त्यसमध्ये अधिकांश निर्माण स्थलमा इन्जिनियरसहित टोली नखटिँदा ठेकेदारले कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम गरिरहेको फेला परेको छ । भद्रपुर नगरपालिका कार्यालयले ठेक्का लगाएको सडक नाला निर्माण कार्य गुणस्तरहीन भइरहेको स्थानीयले नगरपालिकालाई जानकारी गराउन साथ मेयर जीवनकुमार श्रेष्ठले सडक नाला भत्काउन लगउनुभएको छ । भद्रपुर वडा नम्बर ५, ६ र ८ जोडिएको संगम चोकदेखि जनताचोकसम्मको इँटा जडान गरिएको सडक नालाको काम धमाधम भइरहेको छ । तर, सो सडक नाला तोकिएको मापदण्डविपरीत गुणस्तरहीन बन्न थालेपछि मेयर श्रेष्ठ निर्माणस्थल पुगेरै ठेकेदारलाई नाला भत्काउन लगाउनुभएको हो । निर्माणमा ठेकेदारले कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन काम गरिरहेको स्थानीय बताउँछ । गुणस्तरहीन काम भएको जानकारी पाउन साथ मेयरले नाला भत्काउन लागेको वडा सदस्य प्रकाश शर्माले बताउनुभयो ।

एक नम्बर प्रदेश सरकारले गत आर्थिक वर्ष २०७५।७६ मा समपुरक कोषमार्फत संगम चोकदेखि भद्रपुर बजार हुँदै मेची किनारसम्म सडक पुनः निर्माणका लागि सशर्त अनुदानबाट एक करोड बजेट विनियोजन गरेको थियो । सोही बजेटमार्फत नगरपालिकाले न्यूनतम अंक करिब एक करोड १८ लाख तोकेर सुचना प्रकाशन गरेका थियो । २०७६ असार १८ गते एबी निर्माण सेवा भद्रपुरका सञ्चालक सुरेश श्रेष्ठले सो ठेक्का भ्याटसहित ७७ लाख ६७ हजारमा लिएको नगरपालिका इन्जिनियर योगेन्द्र रंजितकारले जानकारी दिनुभयो । करिब ५४० मिटर सडकको दुवैतर्फ इँटासहितको सडक नाला बनाउने कामको सम्झौता यही पुस १९ गतेसम्म रहेको इन्जिनियर रंजितकारको भनाइ छ । सडक नालामा माटो मिसाएको बालुवा प्रयोग गरेको पाइएकोले मेयर श्रेष्ठले नाला भत्काउन लगाएको इन्जिनियर रञ्जितकारले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *