Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > वर्तमान सरकारले सुशासन र शान्ति सुरक्षा कायम गर्न नसकेको कोइरालाको आरोप

वर्तमान सरकारले सुशासन र शान्ति सुरक्षा कायम गर्न नसकेको कोइरालाको आरोप

विराटनगर, १९ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले सुशासन र शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले सरकारले गन्तव्य बिर्सिएकै कारण जनताले दुःख पाउने अवस्था सिर्जना भएको दाबी गर्नुभयो । उहाँले मुलुकमा भ्रष्टाचार, महँगीसँगै बलात्कार र हत्याका घटना दिन प्रतिदिन बढिरहँदा पनि सरकार चुप लागेर बसेको बताउनुभयो ।  कोइरालाले सरकारले कमिसन मागेकै कारण मेलम्ची खानेपानीबाट विदेशी कम्पनी काम पूरा नगरी भाग्न बाध्य भएको दाबी गर्नुभयो । त्यस्तै नेतृत्वले नैतिकता गुमाएका कारण संसदमा कांग्रेसको उपस्थिति कमजोर भएको उहाँले टिप्पणीसमेत गर्नुभयो । उहाँले आफूसँग नैतिकता नभएसम्म अरुको नैतिकताका विषयमा बोल्ने अधिकार नहुने जिकिरसमेत गर्नुभयो ।

कार्यक्रममा प्रदेश नम्बर १ का संसदीय दलका प्रमुख सचेतक केदार कार्की र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गर्नुभयो । उहाँहरुले सधैं खबदारी गर्न पनि आग्रह गर्नुभयो । कांग्रेस क्षेत्रीय सभापति दिलीप पोखरेल, महासमिति सदस्य दामोदर कोइराला, विराटनगर कांग्रेसका कार्यबाहक सभापति अरुण न्यौपाने, सचिव प्रकाश दाहाललगायतले कांग्रेस स्पष्ट दृष्टिकोण र लक्ष्यका साथ अगाडि बढे आउने निर्वाचनमा बहुमत ल्याउन कसैले छेक्न नसक्ने दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *